Breaking News

विद्यालय कर्मचारीहरुका व्यथा कसले बुझिदिने ?

Banner

कारी महतो

चितवन, असार ३–

प्रेम महतो खैरहनी–१, स्थित कंकाली माध्यमिक विद्यालयमा २०७२ सालदेखि कार्यरत कार्यालय सहयोगी हुन् । विद्यालय १० देखि ४ बजेसम्म सञ्चालन भएपनि उनी ९ बजे नै विद्यालय पुग्छन् र सबै काम सकाएर ५ बजे घर फर्कन्छन् । ९ बजे स्कुल पुगेर दुईवटा अफिस कोठा र १३ वटा कक्षाकोठा सफा गरेर चिटिक्क पार्छन् । समय रहे स्कुल अगाडिको मोजाइक टायल लगाएको भुई बढार्छन् ।

दश बज्न पाँच मिनेट अगाडि टिनिनिनी घण्टी बजाउँछन् । एसेम्ब्लीपछि शिक्षकहरुका लागि पिउने पानीको व्यवस्था मिलाउँछन् । प्रधानाध्यापक र शिक्षकहरुले अ¥हाएका काम गर्छन् । शिक्षकहरु कक्षाकोठामा गएपछि उनी स्कुलको गेटमा पुग्छन् । गेटमा बसेर दिनभरि घडी हेर्दै घण्टी लगाउने समयमा घण्टी ठोक्न दगुर्छन् । त्यतिमात्र होइन, आगन्तुकहरुलाई स्वागत गर्ने चियापानी ल्याउने पनि उसैले गर्नुपर्छ । नर्सरी र केजी कक्षाका साना बालबालिकाले कक्षाकोठामै दिशापिसाब गरेमा उसैले सफा गर्नुपर्छ । हप्तामा एकपटक मात्र शौचालय सफा गर्न मेत्तर आउँछ । अरु दिन उसैले सफा गर्नुपर्छ । स्कुलमा कुनै निर्माणको काम भैरहँदा सहयोगीको काम पनि गर्नुपर्छ । एउटा कक्षाकोठाबाट अर्को कोठामा डेस्कबेन्च व्यवस्थापन गर्नुपर्दा उसैले बोकेर ल्याउने लैजाने गर्नुपर्छ ।

त्यति मात्र होइन, साना कक्षामा पढाउने शिक्षक नआएको दिनमा कक्षामा पढाउने काम पनि गर्छन् । कुनै काम बाँकी रहेमा विदाको दिनमा भएपनि आएर काम फत्ते गर्नुपर्छ । एउटा मावि तहमा चारजना कार्यालय सहयोगी हुनपर्छ । तर सबै काम एक्लैले भ्याउनुपर्छ । पियन, पाले, मेत्तर, आया, कुली, लेबर, सहयोगी कार्यकर्ता र शिक्षक लगायत सबैको भूमिका निर्वाह गर्ने काम गरेवापत संघीय सरकारले मासिक आठ हजार मात्रै तलब दिन्छ । नगरपालिकाले मासिक सात हजार थप गरेर पन्ध्र हजार दिने गरेको छ ।

६० वर्षीय सूर्य बहादुर भुजेलको व्यथा पनि प्रेमको भन्दा फरक छैन । भुजेल माधवपुर माध्यमिक विद्यालय रत्ननगर–१५ मा २०३७ सालदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । ४३ वर्षदेखि विद्यालयमा काम गर्दै आएका भुजेल भन्छन् “हाम्रो तलब निकै थोरै छ । सरकारले हामीलाई महङ्गी भत्ता पनि दिदैंन । सञ्चय कोषको व्यवस्था पनि छैन ।” हातमा पेन्सनपट्टा लिएर अवकाश हुने उमेरमा भुजेल सेवासुविधाको माग गर्दै विद्यालय कर्मचारी परिषदको आन्दोलनमा होमिएका छन् । “निकै लामो समयदेखि हामीले सेवा सुविधा वृद्धिको माग गर्दै आएपनि सरकारले सुन्दै सुनेन । बाध्य भएर हामीले अनिश्चितकालसम्म विद्यालय बन्द गर्दैछौं ।” भुजेल भन्छन् “असार ३ गतेदेखि हामीले स्कुलको गेट र कक्षाकोठा खोल्दैनौं र खोल्न पनि दिनेछैनौं ।”

५५ वर्षीय कबिता श्रेष्ठ, बाल कुमारी कन्या माविमा २०४५ सालदेखि सहायक लेखापालका रुपमा कार्यरत छन् । सामान्यतया स्थायी भएको २० वर्षमा स्वैच्छिक अवकाश लिन पाइन्छ । श्रेष्ठसँगै नियुक्त भएका हजारौं शिक्षकहरु अवकाश लिएर पेन्सन खाइरहेका छन् । तर उनी नेपाल सरकारको अकर्मण्यताको शिकार भएका छन् । वर्षौसम्म निरन्तर आशावादी भई काम गर्दागर्दै ३५ वर्षपछि आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम मार्फत सानो आशाको किरण झुल्किएको थियो । त्यो आशाको किरण पनि बजेट भाषणमा हराएपछि नेपाल विद्यालय कर्मचारी परिषदले घोषणा गरेको आन्दोलनमा होमिएका छन् ।

प्रेम महतो, सूर्य बहादुर भुजेल र कविता श्रेष्ठ जस्ता ३५ हजार ६८ जना विद्यालय कर्मचारीहरुको व्यथा उस्तै छ । वर्षौदेखि आधा तलबमा काम गरिरहेका छन् । नेपाल सरकारले उनीहरुको श्रम शोषण गरिरहेको छ । सरकार आफैंले प्रतिबद्धता गरेको सेवासुविधाबाट वञ्चित गरिरहेको छ । देशभरका विद्यालयमा कार्यरत लेखापाल र कार्यालय सहयोगीहरुको संगठन नेपाल विद्यालय कर्मचारी परिषदले जेठ १९ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गरिरहेको छ । परिषदले आज असार ३ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्दको घोषणा समेत गरेका छन् । त्यसका लागि सरकारले यथाशिघ्र उच्चस्तरिय वार्ता समिति मार्फत परिषदसँग वार्ता गरी पिडित विद्यालय कर्मचारीहरुको माग सम्बोधन गरी सम्मानजनक सेवासुविधाको व्यवस्था मिलाउनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>