चितवन विशेष

‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ पुस्तक सार्वजनिक

Banner

चितवन, असार ३-

पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ । वाल्मीकि साहित्य सदनद्वारा शनिवार आयोजित कार्यक्रममा पूर्वी चितवनमा बस्ती बसाल्नेदेखि विकास निर्माणमा विशिष्ट योगदान पुर्याउनुहुने १८ व्यक्तित्वको योगदानका बारेमा चर्चा गरियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेलले भूराजनीति समाजसेवा भएकाले जनप्रतिनिधिले राज्यबाट सेवा–सुविधा लिनु उचित नहुने बताउनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले पुर्खाहरूको निःस्वार्थता, अनुशासन र प्रेरणाबाट पूर्वी चितवनको विकास सम्भव भएको उल्लेख गर्दै भाषा, कला, संस्कृति, साहित्यको उन्नयनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री सावित्रीदेवी बोगटीले विमोचित पुस्तकले चितवनको इतिहासलाई उजागर गरेको बताउनुभयो । पुस्तकका लेखक राष्ट्रिय समाचार समितिका सञ्चालक समितिको सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले अग्रजहरूको योगदान इतिहासको दस्तावेज भएकाले यसलाई भावी पुस्तासम्म पुर्याउन पुस्तकहरूको प्रकाशन गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

पुस्तकमाथि समालोचना गर्दै चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकले पूर्वी चितवनको इतिहासलाई जीवन्त राखेको र यस पुस्तकमा छुटेका थुप्रै व्यक्तित्वहरूलाई समेट्न अर्को संस्करण प्रकाशन गर्न सुझाव दिनुभयो । वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वी चितवनको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरूका बारेमा चर्चा गर्नुभयो ।

पुस्तकमा पूर्वी चितवनमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा योगदान पुर्याउनुभएका १८ जना अग्रजहरूको योगदानको चर्चा गरिएको छ । पूर्वी चितवनमा बस्ती बसाउनेदेखि विभिन्न राजनीतिक आन्दोलनमा योगदान पुर्याउनेहरूका बारेमा पुस्तकमा उल्लेख छ । पुस्तक एक सय ४० पृष्ठको रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>