चितवन विशेष
चितवनका सय किसानलाई आईपिएम तालीम

चितवन, असार १–
रासायनिक विषादीको प्रयोगलाई विस्थापित गर्न पश्चिम चितवनका किसानलाई एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको छ ।
भरतपुर महानगरपालिका र जिल्ला आईपिएम कृषक संघ चितवनको संयुक्त आयोजनामा भरतपुर १३, १६, २६ र २३ नम्बर वडाका सय जना कृषकलाई तालिम प्रदान गरिएको हो ।
चार महिनासम्म सञ्चालन भएको पाठशालामा पर्साढाप आईपिएम कृषक पाठशाला, प्रगती नमुना आईपिएम पाठशाला, कालिका आईपिएम पाठशाला र सक्रिय (मिलीजुली) आईपिएम कृषक पाठशालाका कृषकहरुको सहभागिता रहेको थियो । फागुन महिनादेखि सुरु भएको पाठशाला चार ठाउँमा सञ्चालन गरिएको जिल्ला आईपिएम कृषक संघकी अध्यक्ष रमा ढुंगानाले जानकारी दिनुभयो ।
जिल्ला आईपिएम कृषक संघले २० बर्षदेखि पाठशाला सञ्चालन गर्दै आएको छ । कोभिडका कारण रोकिएको पाठशालालाई यसबर्षदेखि निरन्तरता दिन लागिएको आइपिएम अभियान्ता रिता बास्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एक सयभन्दा बढी कृषक समुहलाई तालिम प्रदान गरिएको छ । बालि उत्पादन नसकिँदासम्म पाठशाला सञ्चालन उहाँले बताउनुभयो । अहिले किसानहरु आईपिएम पाठशाला प्रति आक्रषित भएको बास्ताकोटीको दावि छ ।
चितवनमा प्राङ्गारिक कृषि प्रमाणीकरण अभियान समेत थालेका छन् । चितवनमा जिल्ला प्राङगारिक संघ चितवन अन्तर्गतका २९ जना कृषकहरुले अगार्निक सिटिफिकेसन नेपाल (ओसिएन) प्राप्त गरेका छन् । उनीहरुले ३६ दशमलव ४ हेक्टर क्षेत्रफलमा खेती गरेका छन् । त्यसबाहेक अन्य किसानले पनि प्राङगारिक खेती गरेको पाइन्छ । नेपालमा करिव २ लाख हेक्टरमा २ लाख किसानले प्राङ्गारिक खेती गरेको तथ्यांक छ ।
बीउको उपचार विधि थाहा पाएपछि प्राङ्गारिक खेती गर्न समस्या नहुने प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना कार्यान्वयन ईकाई चितवनका प्रमुख धनबहादुर थापा बताउनुहुन्छ । कृषि ज्ञान केन्द्र चितवनका निमिक्त प्रमुख मीन बहादुर पुनले प्राङ्गारिक खेतीको प्रवद्र्धनमा आफुहरु लागेको बताउनुभयो । ‘व्यवसायीक कृषि बढ्यो । रासायनिक बिषादी पनि बढ्यो,’ उहाँले भन्नुभयो ‘रासायनिक विषादीको ठाउँमा जैविक विषादी प्रयोग गर्न सकिन्छ ।’
चार महिनासम्म सञ्चालन भएको तालिममा जिल्ला आईपिएम कृषक संघ चितवनकी अध्यक्ष रमा ढुंगाना र रिता वास्ताकोटीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम शुक्रवार गरिएको थियो ।


























