चितवन विशेष
भरतपुरकी मेयर दाहालद्धारा एकै दिन स्वास्थ्य चौकीसहित चार भवनको उद्घाटन

चितवन, जेठ ३०
भरतपुरकी मेयर रेनु दाहालले भरतपुर–२४ को ध्रुवमा आधारभूत स्वास्थ्य केन्द्रसहित चार भवनको उद्घाटन गरेकी छन् । भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यतालाई हटाउन उनले केन्द्रको उद्घाटन गरेकी हुन् ।
यसअघि स्थानीयहरु छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने अवस्था थियो । यस केन्द्रलाई थप स्तरोन्ति गरी स्वास्थ्य सेवालाई बिस्तार गर्ने लक्ष्य लिइएको छ ।
महानगरपालिका प्रमुख दाहालले संघीयताको मर्मानुसार जनताको घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताइन् । उनले भरतपुर–२४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाइ, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेसन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गरिन् । महानगरभित्रको विपन्न समुदाय लक्षित वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिँदै उनले भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पु¥याइने बताइन् ।
भरतपुर–२४ मा रहेका भूमिहिन सुकुमबासीलाई एक महिनाभित्र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन् । लालपुर्जा वितरण गर्ने काम तीब्ररुपमा अगाडि बढाइएको उनको भनाइ छ ।
यसै बीच भरतपुर–२४ कैछेथरलिङ बौद्ध गुम्बा संग्रहालय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले आजै उद्घाटन गरिन् । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा भएको थियो ।
























