चितवन विशेष

भरतपुरको केरुङ्गा खोला अतिक्रमणमा परेपछि पुनः नाप्न उपमेयर अधिकारीको निर्देशन

Banner

चितवन, जेठ २९-

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले केरुङ्गा खोलाको निरीक्षण पश्चात् पुनः नाप नक्सा गर्न निर्देशन दिएका छन् ।

अधिकारीले आज बिहान अनुगमनमा जादा केरुङ्गा खोला अतिक्रमणमा परेको देखेपछि सो निर्देशन दिएका हुन् ।
उनले भने, ‘केरुङ्गा खोलाको वास्तविक क्षेत्र के कति हो ? तत्काल नै नाप नक्सा गरेर छुट्टाउन मेरो निर्देशन छ, यसको कार्वान्वयन खरायोको गतिमा हुनुपर्छ ।’

उपमेयर अधिकारीले केरुङ्गा खोला महानगरको इतिहास भएको बताएका छन् । ‘यो खोला महानगरको इतिहासँग सम्बन्ध जोडिएको खोला हो’ उपमेयर अधिकारीले भने, ‘यो खोला महानगरको गहना पनि हो । महानगरको बीच भागबाट बगेको यस खोलाको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि महानगरपालिका सचेत छ ।’ उनले केरुङ्गा खोलालाई व्यवस्थित गर्न सकेको खण्डमा यसले महानगरको सुन्दरता र पहिचानलाई थप उचाइमा पु¥याउने विश्वास महानगरपालिकाले लिएको बताए ।

बिगतका वर्षहरुमा पनि महानगरपालिकाले केरुङ्गा खोलाको सिमांकन तथा निरीक्षण गर्दै आइरहेको उल्लेख गर्दै उनले केरुङ्गा खोलामा भएको अतिक्रमणका सम्बन्धमा महानगर निकै गम्भीर रहेको पनि प्रष्ट पारे । यसको व्यवस्थापन र संरक्षण गर्नु हाम्रो लागि चुनौती पनि छ तर यो हाम्रो लागि इतिहास फर्काउने काम पनि हो ।’ तिनवटा मुहानको स्रोतलाई ब्यबस्थित गर्न उपमेयरले निर्देशन दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलमा केरुङ्गा खोलाको मुहान रहेको छ । भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा केरुङ्गा खोला फैलिएको छ ।

उद्गम स्थलमा तीनवटा मुहान भएको केरुङ्गा खोला दुई वटा बन्दै जगतपुर पुग्दा एउटामा मात्र सिमित भएको छ । भरतपुर महानगरपालिकाका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३ र २४ भएर केरूङ्गा खोला बग्ने गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ९ र ११ ले आफ्नो वडा सिमाना सम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।

खोलाको दायाँबायाँ क्षेत्र नक्सामा कति मिटर छ भन्ने बारेमा भने नाप नक्सा गरेपछि मात्रै यकिन हुने भूमि ब्यवस्थापन शाखाका इञ्जिनियर शिवहरि अधिकारीले जानकारी दिए । खोलाको अधिकांश क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेको र पटक पटक अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको इञ्जिनियर अधिकारीको दाबी छ । भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अनुसार आगामी दिनमा जगतपुर सम्म नै यसको ब्यबस्थापन गरिने भएको छ । वर्षात्को समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् ।

महानगरको गौरवको आयोजनामा रहेको केरूङ्गा खोला व्यवस्थित भएपछि डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, पैदल बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुलसहितको हरियाली रहने छ । जसको डीपीआर समेत भइसकेको छ । यस खोलालाई व्यवस्थित गरेपछि आन्तरिक तथा बाहिय पर्यटकहरुको चहलपहल बढने महानगरपालिकाले बिश्वास लिएको छ । उक्त खोलामा अहिले पनि प्रदेश सरकारको सहयोगमा रिटेनिङ वाल तथा सियर वाल निर्माण कार्य भइरहेको छ । अनुगमनमा सम्बन्धित वडाका अध्यक्षहरु,महाशाखाका प्रमुख तथा इञ्जिनियरहरु, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियोे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>