Breaking News

गर्मीले चितवनका स्विमिङ पुलहरुमा भीड बढ्यो, तातो हावा चल्दा पौडी नखेल्न चिकित्सकको सुझाव

Banner

निरुता विक

चितवन,जेठ २८-

अत्यधिक गर्मीका कारण चितवनका स्विमिङ पुलमा मानिसहरुको भीड लाग्न थालेको छ ।

जेठ १३ गतेपछि पानी नपर्दा अत्यधिक गर्मीका कारण मानिसहरु शीतलता खोज्दै स्वमिङ पुलमा जाने गरेका हुन् ।

क्याम्पस तथा विद्यालयहरु पनि कतै गर्मीका कारणले त कतै वर्षे बिदा भएकोले पनि स्विमङ पुलमा बालबालिकासहित जाने उपयुक्त समय जुरेको छ ।
गर्मी महिना लागेसँगै भरतपुर महानगरपालिका–४ लंकूमा रहेको जेम्स वल्र्ड फन पार्कको स्विमिङ पुलमा मानिसहरुको भीड लागेको देखिन्छ । शरीर शीतल बनाउन र गर्मी छल्नको लागि बालबालिकादेखि अभिभावकसमेत पौडी खेल्न फन पार्क पुग्छन् ।

वीरगञ्ज घर भएका श्रीदेपकुमार पट्टेल अहिले कामको सिलसिलामा भरतपुर बस्दै आएका उनले पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेकाले गर्मी छल्नको लागि पौडी खेल्न आएको बताए । दैनिक ४१ डिग्री तापक्रम हुने भएकाले केही समयको लागि भए पनि पौडी खेल्दा आनन्द हुने उनको भनाइ छ ।

फन पार्कमा पौडी खेल्दै गरेका लोथर गड्यौली घर भएका रोनक उप्रेतीले गर्मीको समयमा पौडी खेल्दा धेरै नै रमाइलो हुने बताए । उनले भने, ‘गर्मीको समयमा पौडी खेल्दा धेरै रमाइलो हुन्छ, पानी चिसो हुन्छ । साथीहरुसँग मिलेर पौडी खेल्दा केही समयको लागि भए पनि गर्मीलाई भुल्न सकिन्छ ।’ उनले फन पार्कमा चार घण्टासम्म स्विमिङ गरेको बताए ।

भरतपुर–१९ रामपुरका प्रदिप पाख्रिनले दिनँहु तापक्रम बढ्दै गएकाले पौडी खेल्दा केही समय भए पनि आनन्द महसुस हुने बताए । उनले भने, ‘केही दिनयता घाम धेरै चर्को लागेको छ, गर्मी धेरै छ । साथीभाईसँग पौडी खेल्दा रमाइलो पनि हुन्छ । केही समयको लागि गर्मी छल्न सकिन्छ ।’
स्वीमिङ पुलमा बालबालिकादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । स्विमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको हुन्छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्विमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ ।

पौडीले मनोरञ्जन प्रदान गर्ने मात्र नभई शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ । गर्मी बढेसँगै स्विमिङ पुलमा मानिसहरुको चाप बढेको फनपार्कका प्रबन्धक ईश्वर अधिकारी बताउँछन् । शनिबार र सार्वजनिक बिदाको दिन गर्मीका कारण स्विमिङ पुलमा निकै भीडभाड हुने उनको भनाइ छ । उनलेभने, ‘सार्वजनिक बिदाको दिनमा फनपार्कमा स्विमिङ गर्न एक हजारदेखि ११ सयसम्म मानिस आउने गर्छन् ।’सार्वजनिक बिदाको दिन बाहेक अरुदिनमा १०० देखि २०० सम्म मानिस घुम्न र पौडी खेल्न आउने उनको भनाइ छ ।

उनले फन पार्कमा स्विमिङ पुलको लागि चार वटा पोखरी रहेको बताए । उनले हरेक पुलमा सात जनासम्म कर्मचारी काम गर्ने सुनाए । उनले भने,‘स्विमिङ पुलको व्यवस्थापनको लागि स्वमिङ कस्टुमको समेत व्यवस्थापन गरेका छौँ । कस्टुम राख्नको लागि लकरको व्यवस्था गरेका छौँ ।’
पौडी खेल्दा शरीरको सम्पूर्ण भागको व्यायाम हुन्छ । पौडी खेल्दा शरीरका सबै अंग चलायमान हुने भएकाले शरीर स्वस्थ्य र फूर्तिलो राख्न मद्दत पुग्ने गर्छ । साथै पौडी खेल्दा मनोरञ्जन पनि प्राप्त हुन्छ । पौडीले शरीरको हड्डी मजबुत बनाउन, मांसपेशी कसिलो बनाउन, शरीर फिट राख्न सहयोग गर्छ ।

त्यसैगरी भरतपुर महानगरपालिका–१९ दासढुंगाको प्रेसीडेन्सी रिसोर्टमा पनि हरेक दिन ठूलो संख्यामा मानिसहरु पौडी खेल्न पुग्ने गर्छन् । रिसोर्टका प्रबन्धक प्रकाश अधिकारीले रिसोर्टमा हरेक दिन दैनिक ३०० देखि ५०० सम्म मानिस पौडी खेल्न आउने गरेको बताए । उनले बग्दै गरेको मूलको पानीमा पौडी खेल्न पाइने भएकोले पनि मानिसहरुको आकर्षण बढेको नारायणी अनलाइनलाई जानकारी दिए । रिसोर्टमा शनिबार पौडी खेल्न साथीहरुसँग पुगेका चितवनका घरजग्गा व्यवसायी दिनेश कुमार चुकेले गर्मी बढेर धेरै वर्षपछि आफू पौडी खेल्न रिसोर्ट पुगेको अनुभव सुनाए । उनले भने, ‘ रिसोर्टमा गर्मीले गर्दा पौडी खेल्नेको ठूलो भीड लाग्ने रहेछ ।’

पौडी खेल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी

भरतपुर अस्पतालमा वरिष्ठ फिजिसिएन डाक्टर प्रमोद पौडेलले पौडी खेल्दा आरामको महसुस भए पनि जलवियोजन हुने सम्भावना धेरै हुने बताए । उनले भने, ‘ पौडीको कारणले टाउको दुख्ने, चक्कर लाग्ने, प्रेसर घट्ने हुन्छ । पानीमा पसिना गएको थाहा नै हुँदैन । तातो हावा चलेको बेलामा स्विमिङ गर्नु हुँदैन । स्विमिङ गर्न जादा पानी प्रशस्त पिउनुपर्छ । छत भएको स्विमिङ पुलमा पौडी खेल्दा राम्रो हुन्छ । ’ स्विमिङ पुललाई समय समयमा सफा गनुपर्ने उनले बताए । उनले भने, ‘ पानीमा क्लोरिनको मात्रा हेरेर पानी परिवर्तन गर्नुपर्छ । नुहाएर पौडी खेल्दा राम्रो हुन्छ । आफ्नो शरीर फोहोर छ भने अरुलाई पनि रोग सर्न सक्छ । आँखा पाख्ने, कान पाक्ने , नाकमा पानी पस्ने, खोकी लाग्ने, पखाला लाग्ने हुन्छ । छाला पोल्ने र डढ्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकोले विशेष सावधानी अपनाउनु पर्छ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>