कृषि

भरतपुरको चम्पानगरमा ४२ लाख बढीको लगानीमा साइलेज उद्योग सञ्चालनमा

Banner

चितवन, जेठ २४-

भरतपुरको चम्पानगरमा घाँसमा आधारित साइलेज उद्योग सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका–१३ चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादनका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०÷५० प्रतिशत लगानी छ । कुल ४२ लाख ३५ हजार रुपैयाँ लागतमा स्थापना भएको उद्योगको बुधबार भरतपुर–१३ का वडा अध्यक्ष प्रकाश दवाडीले उद्घाटन गरेका छन् ।
सुख्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुन्छ । उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष होमनाथ सुवेदीले भने, ‘यो ठाउँका किसानहरुले महंगो मूल्यमा पराल किनेर ख्वाउने बाध्यता छ । किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गरेका छन् । अब स्थानीयस्तरमै उत्पादन हुदा यसले यहाँका किसानलाई लाभ मिल्ने छ । अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ । हामी प्रति केजी साढेँ ११ रुपैयाँको दरले बितरण गर्ने छौँ जुन बजार मूल्य भन्दा सस्तो हो ।’

उत्पादन लागत बढ्नु, बजारीकरणमा समस्या हुनुलगायत विविध समस्याका कारण कृषि तथा पशु किसान पलायन हुने क्रम बढेकाले यस पेसालाई जोगाउन उद्योग स्थापनाले टेवा पुग्ने विश्वास किसानले लिएका छन् । २०४२ सालदेखि दुग्ध संकलनसँगै पशुपालक किसानहरुका लागि काम गर्दै आएको यो सहकारीले साइलेजको बिस्तारका लागि मकै खेतीमा समेत किसानलाई सहयोग गर्ने कार्यक्रमको समेत तयारी गरेको छ ।
देशकै मध्य भागमा रहेको चितवन जिल्ला दूधमा आत्मनिर्भर छ । यहाँका सहकारीहरुले पछिल्लो दिनमा व्यवसायिकरुपमा किसानको क्षमता बढाउन काम गर्दै आएका छन् । भरतपुर महानगरपालिकाले आफ्नो बजेटबाट प्रति लिटर ३ रुपैँयाँ अनुदान पनि दिने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>