Breaking News

चितवनको बाँदरमुढे घटनाको १८ वर्ष, पीडित भन्छन्ः प्रचण्डसँग गरेको सहमति कार्यान्वयन भएन

Banner

चितवन, जेठ २३-

माडीको बाँदरमुढे घटना भएको १८ वर्ष पूरा हुदा पनि न्याय नपाएको पीडितले गुनासो गरेका छन् ।

माओवादी द्वन्द्वकालको कहालीलाग्दो सो घटनाको स्मरणमा बाँदरमुढे घटना पीडित समितिले बाँदरमुढे स्मारक स्थलमा आज गरेको स्मृति सभामा पीडितले सो गुनासो गरेका हुन् ।

सभामा मानव अधिकारकर्मी चरण प्रसाईंले बाँदरमुढे घटना अन्तर्राष्ट्रिय अपराध भएको बताएका छन् । १८औं स्मृतिसभामा बोल्दै अधिकारकर्मी प्रसाईंले बाँदरमुढे घटनामा अन्तर्राष्ट्रिय न्याय क्षेत्र आकर्षित हुने बताए । उनले भने, ‘घटना मानवताबिरुद्धको अपराध हो । देशको न्याय व्यवस्थाले समेट्न नसके यस काण्डमा अन्तर्राष्ट्रिय न्यायिक क्षेत्रले निरुपण गर्न सक्छ ।’ सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन पीडितलाई नभई पीडक पक्षहरुलाई नै फाइदा हुनेगरी दलीय भागबण्डामा बनेको उनको आरोप छ ।

कार्यक्रममा बाँदरमुढे घटनाका पीडितलाई वर्तमान सरकारले चाहेमा न्याय दिन सक्ने माडीका नगरप्रमुख तारकुमारी काजी महतोले बताइन् । स्मृति सभालाई सम्बोधन गर्दै उनले बाँदरमुढे घटनाबाट धेरै जनाले आफ्ना आफन्त गुमाएका तर अहिले सम्म पनि न्याय पाउन नसक्नु दुःखद भएको बताइन् । माडी नगरपालिकामा पीडितहरु रुँदै हामीले केही पाउन सकेनौं भन्दै आउने गरेको र नगरपालिकाले पीडितहरुलाई सकेको सहयोग गर्दै आइरहेको उनको भनाइ छ । देशको प्रमुख भूमिकामा रहेका प्रधानमन्त्रीले अझै पनि चाहेमा भने बाँदरमुढे घटना पीडितले न्याय पाउन सक्ने नगरप्रमुख महतोको टिप्पणी छ ।
बाँदरमुढे घटना भएको १८ वर्ष बितिसक्दा पनि आफूहरुले न्याय नपाएको पीडितहरुले गुनासो गरेका छन् । तत्कालिन नेकपा (माओवादी)द्वारा सञ्चालित विद्रोहको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटनामा परेकाहरुले सो गुनासो गरेका हुन् ।

राज्यबाट परिपूरण नपाएको र पछिल्लो समयमा सरकारी निकाय एवम् दलहरुले वास्ता गर्ने छाडेको उनीहरुको भनाइ छ । घटनाको जिम्मेवार पार्टीका अध्यक्ष नै प्रधानमन्त्री हुँदा समेत आफूहरुको आवाज सुनुवाइ नभएको उनीहरुले कार्यक्रममा दुःखेसो पोखे ।

२०६२ साल जेठ २३ गते गुडिरहेको यात्रुबाहक बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । घटनामा घाइते भएका थप चार जनाको समयक्रममा मृत्यु भइसकेको छ । घटना भएको एक वर्षपछि मृतकका परिवार र घाइतेहरु बाँदरमुढे घटना पीडित समिति गठन गरी न्याय माग्दै आएका छन् ।

यसैबीच, तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडित पक्षसँग गरेको सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन । २०७४ मंसिर १७ गते भएको सहमतिमा मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई निःशुल्क शिक्षा दिनेलगायतका सहमति भएको थियो । २०७४ सालको निर्वाचनमा माडीमा भएको चुनावी सभामा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माडी पुगेर माडीलाई ‘मणि’ बनाउँछौं भनेर उद्घोष पनि गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>