देश/प्रदेश
राष्ट्रिय योजना आयोगले पायो पूर्णता, चितवनकी सदस्य डा. ढुंगानाले सम्हालिन जिम्मेवारी

काठमाडौं, जेठ २१-
राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।
आयोगकी नव नियुक्त सदस्य चितवनकी अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।
नव नियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । सोमबार आयोजित सपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवलप्रसाद भण्डारीको उपस्थिति थियो ।
महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्यपदमानियुक्त गरेको हो । भरतपुर महानगरपालिका–१० की ढुंगाना सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडीपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् । वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईए र बीए उतीर्ण गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट एमए, बंगलादेशबाट जनस्वास्थ्यमा एफफिल र अमेरिकाबाट जनस्वास्थ्यमा पीएचडी गरेकी हुन् ।
२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालिन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई प¥यो । गठबन्धन परिवर्तन पछि केही नयाँ सदस्यहरु नियुक्त भए पनिआयोगले पूर्णता भने पाउन सकेको थिएन ।
यसअघि आयोगको सदस्यहरु डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिकातथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचनाप्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णालीप्रदेश हेर्ने जिम्बेवारी पाएकी छन् ।
यस अघि नियुक्त भएका सदस्यहरु मध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदुरपश्चिम प्रदेशको जिम्बेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

























