Breaking News

गर्मी बढेपछि भरतपुर अस्पतालमा बिरामीको चाप, शैयाको अभाव

Banner

निरुता विक

चितवन, जेठ २०

गर्मीका कारण भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ ।

केही दिनदेखि बढेको गर्मीले विभिन्न रोगको संक्रमण देखिएपछि अस्पतालमा बिरामीको चाप बढेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलका अनुसार भाइरल ज्वरो, वाकवाकी, ज्वरो, रिगंटा लाग्ने, झाडापखाला, रुघाखोकीलगायतका बिरामीको चाप बढेकोे छ । उनले अस्पतालमा बिरामीको चाप बढेसँगै शैयाको समेत अभाव भएको नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले भने, ‘बिरामीको चाप बढेको छ, शैयाकोे अभाव भएपछि अधिकांश बिरामीलाई भर्ना नगरी ओपीडीबाटै जाँच गरेर उपचार गर्नुपर्ने तथा अर्को अस्पतालमा रिफर गर्न बाध्य हुनुपरेको छ ।’ बिरामीको चापका कारण कर्मचारीलाई काम गर्न समेत गाह्रो भएको उनले गुनासो गरे । उनले गर्मीमा विभिन्न रोगहरु फैलिने र सर्ने भएकोले सकेसम्म बाहिर घाममा नहिड्न आग्रह गरेका छन् । गर्मीको समयमा विशेषगरी बासी खानेकुरा नखान, भीडभाडमा नजान, सफा ताजा खानेकुरा खान, जुस पिउन, पानी प्रशस्त पिउन मेसु डा. पौडेलको सुझाव छ ।

अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढेको बताए । उनले दैनिक एक हजार ५०० देखि एक हजार ८०० सम्मका विभिन्न रोगका कारण बिरामी अस्पतालमा आउने गरेको बताए । उनले अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शैया समेत अभाव भएकोे बताए ।

अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले चर्को गर्मीका कारण अस्पतालमा मौसमी बिरामीको चाप बढेको बताए । गर्मीका कारण विभिन्न रोग लागेका ५० प्रतिशत बिरामी र ५० प्रतिशत दीर्घ रोगका बिरामी दैनिक अस्पताल उपचार गर्न आउने उनले बताए । उनले गर्मी बढेसँगै जिल्ला स्थित सबैजसो सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको उनको भनाइ छ । उनले भने, ‘अहिले अस्पतालमा टाँउको दुख्ने, रिगंटा लाग्ने, बान्ता हुने, झाडापखाला जस्ता रोगका बिरामी उपचारको लागि आउने गरेका छन् । ’

अस्पतालका फिजिसियन डा. प्रमोद पौडलका अनुसार गर्मीका कारण हैजा, जन्डिस, टाइफाइड, हेपाटाइटिस, वाकवाकी, ज्वरो, प्रेसर घट्ने बढ्ने, झाडापखालालगायत रोगहरु मानिसमा देखा पर्छ । उनले गर्मीमा पसिना धेरै आउने भएकाले पानीको मात्रा कम हुने हुँदा पसस्त पिउन सुझाव दिएका छन् । उनले भने, ‘पानीको मात्रा कम भएमा मृगौलामा असर पर्छ ।’

फिजिसियन डा.पौडलका अनुसार गर्मीको कारणले शरिरमा पानीको कमी अर्थात् डिहाइड्रेशन हुन सक्छ र जसले चक्कर लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु पनि हुन सक्छन् । उनले भने, ‘अनावश्यक रुपमा घाममा बाहिर निस्कनु हुँदैन ।’ गर्मीको कारणले बालबालिका बिरामी पर्न सक्ने भएकोले चितवनका स्थानीय तहले सरकारी र निजी गरी सबै विद्यालयहरु भोलि आइतबारबाट शुक्रबारसम्म बिदा दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>