Breaking News

नमुना जहाज बनाएर उडाउने चितवनका युवा अभय परियार एक लाख पुरस्कारसहित सम्मानित

Banner

चितवन, जेठ १७-

बुद्ध एयरले आफ्नो एटीआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ ।

रत्ननगर नगरपालिका–१३ जयमंगलाका १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन् । कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले बताए ।

‘हामी उहाँको मेहनतका लागि धन्यबाद दिन चाहान्छौं । उहाँको उज्वल भविष्यको कामना गर्न चाहान्छौं,’ बुद्ध एयरले भनेको छ।

रत्ननगर नगरपालिका–१३ जयमंगलाका अभय अहिले विज्ञान–प्रविधिको कलाले चर्चित भएका छन् । जयमंगलाका एक विपन्न परिवारमा १८ वर्षअघि उनको जन्म भयो । बाबु मोहन परियार र आमा दीपा परियारको उनी कान्छो सन्तान हुन् । बाल्यकालदेखि नै फरक स्वभावका अभयको अहिले अद्भुद प्रतिभाको चौतर्फि चर्चा चलेको छ । केही दिनअघि सामाजिक सञ्जाल टिकटकमा उनले एक भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा बुद्ध एयरको सानो जहाजको उडान र अवतरण गरिएको थियो । उक्त जहाज अभयले आविष्कार गरी उडाउन सफल भएका छन् ।

अभयलाई सानैदेखि नयाँ कुराहरुको खोज तथा आविष्कार गर्ने रुचि थियो । रत्ननगरमा रहेको शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुलमा उनले विद्यालय शिक्षा प्रारम्भ गरे । सानैदेखि विज्ञानसँग रमाउन खोज्ने उनी विज्ञानसँग परिचित भए । विद्यालयमा हुने ‘विज्ञान प्रदर्शनी’ मा उनी सबैभन्दा पहिलो स्थानमै हुने गर्थे । उनी भन्छन्, ‘सानैदेखि नयाँ–नयाँ चिजहरु आविष्कार गर्ने कुरामा म निकै उत्सुक हुन्थेँ ।’

कक्षा चार पढ्दादेखि नै उनी सानो–सानो मोटर बनाउने, बत्तीहरु बनाउने जस्ता आविष्कारहरु गर्थे । बच्चा बेलामै उनको अद्भूत प्रतिभा देखेर उनले भविष्यमा केही न केही आविष्कार गर्ने कुरामा उनका परिवार आफन्त तथा शिक्षकहरु विश्वस्त थिए । उनको इच्छालाई पनि परिवारले भरपुर साथ दिएको अभय बताउँछन् । उनले जहाज बनाउने सम्बन्धी जानकारीका लागि घरमै बसेर इन्टरनेटको साहारा लिन थाले । जसबाट उनले जहाज बनाउन चाहिने सामान र आवश्यक अन्य जानकारी लिए ।

‘सामान्य जानकारी त ६ कक्षा पढ्दादेखि नै थाहा थियो । त्यसबेला नेपालमा सामान उपलब्ध थिएन । भारतमा मात्रै उपलब्ध थियो । तर भारतबाट मगाउन महंगो पर्ने भएका कारण हाम्रा लागि त्यो सम्भव थिएन,’ उनी भन्छन् ‘अहिले नेपालमा दराज अनलाइनमा सामान पाइने रहेछ । एसईईपछि चाहिँ सामान किन्दै प्लेन बनाउन लागेँ ।’ उनले एक–दुई वर्ष अघिदेखि तारा एयरको विमान आविष्कार गरेका थिए । उक्त जहाज बनाइसकेपछि उनले अहिले बुद्ध एयर तथा नेपाली सेनाको जहाज बनाइ आकाशमा उडाएका छन् । उक्त जहाज आकाशमै उडाएर सफल अवतरण समेत गराएको भिडियो अहिले टिकटकमा छ्याप्छ्याप्ती भेट्न सकिन्छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>