स्वास्थ्य

महिनावारीमा महिलालाई बिदा ! यी देशमा छ महिलामैत्री कानुन

Banner

जेठ १६-

हरेक वर्ष मे २८ लाई महिनावारी स्वच्छता दिवसको रुपमा मनाइन्छ । महिनावारीको बेलामा महिलाहरुलाई हुने दुखाई तथा पीडालाई मध्यनजर गर्दै स्पेनमा महिलाहरुलाई हरेक महिना रजश्वलाका बेला तीन दिन बिदा लिने अधिकार प्रदान गरिएको छ ।

साथै महिलाहरुलाई तीन दिनका लागि पाएको छुट्टीलाई पाँच दिनसम्म लम्ब्याउन सक्ने विकल्प पनि उपलब्ध छ ।

स्पेनको संसदले गत फेब्रुअरी १६ मा त्यस सम्बन्धी विधेयकलाई पारित गरेको हो । स्पेनमा यौन तथा प्रजनन् अधिकारसँग सम्बन्धित विभिन्न अधिकारहरुलाई कानुनबाटै संरक्षित गरिएको छ, जसमध्ये रजश्वला बिदा पछिल्लो महत्वपूर्ण निर्णय हो । स्पेन महिनावारीको बेला महिलालाई तलबी बिदा दिने युरोपकै पहिलो मुलुक पनि बनेको छ ।

संसदमा बोल्दै स्पेनका मन्त्री आयरिन मोन्टेरोले यी अधिकारविना महिलाहरु पूर्णरुपमा नागरिक बन्न नसक्ने भन्दै महिलाहरुलाई महिनावारीका बेला दिइने बिदाको खर्च सरकारले बहन गर्ने बताएका छन् ।

अमेरिकन कलेज अफ अबस्ट्रेसियन एण्ड गाएनोकोलोजिस्टका अनुसार महिनावारी हुने महिलामध्ये आधाजसो महिलामा हरेक महिना महिनावारीका बेला एक वा दुई दिनसम्म यतिधेरै दुखाइ हुन्छ कि उनीहरु आफ्नो नियमित काम पनि राम्रोसँग गर्न सक्दैनन् । त्यसैले स्पेनको पछिल्लो निर्णयलाई निकै महत्वपूर्ण तथा प्रगतिशील मानिएको छ ।

अरु कुन-कुन देशमा छ यस्तो प्रावधान?

एसियाको कुरा गर्दा जापान एउटा यस्तो देश हो जहाँ महिनावारीका बेला दिने बिदालाई श्रम कानुनमै व्यवस्था गरिएको छ ।

जापानमा महिलाहरुलाई सन् १९४७ देखि नै यस्तो रजश्वला बिदा दिने कानुन लागू भएको थियो । त्यस्तै इण्डोनेसियाले सन् १९४८ मा यस्तो नीति लिएको हो ।

उल्लिखित मुलुकमा महिनावारीका बेला यदि महिलालाई समस्या परेमा उनीहरुले कार्यस्थलमा काम गर्नु नपर्ने र २ दिनसम्मको बिदा लिनसक्ने प्रावधान छ ।

त्यस्तै फिलिपिन्सका साथै अफ्रिकी जाम्बियामा पनि महिलाहरुले महिनावारीका बेला बिदा लिन सक्दछन् । त्यस्तै दक्षिण कोरियाले पनि सन् १९५३ देखि यस्तै प्रावधान लागू गरेको छ ।

एजेन्सी/बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>