चितवन विशेष

सहकारीलाई नियन्त्रण गर्न सके सदस्यहरुको सक्रियतालाई बढाउन सकिन्छः जिसस प्रमुख अधिकारी

Banner

निरुता विक

चितवन, जेठ १४

चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले सहकारीलाई दिगो रुपमा अगाडि बढाउनको लागि सदस्यहरुको सक्रियतालाई बढाउनुपर्ने बताएका छन् ।

आज भरतपुरमा बचत तथा ऋण सहकारी संघले गरेको ‘सहकारीमा महिला तथा युवाको सहभागिता र सशक्तिकरणको धारिलो अस्त्र’ कार्यक्रममा उनले सहकारीलाई नियन्त्रण र नियमन गर्न सके सहकारी सदस्यहरुको सक्रियतालाई बढाउन सकिने बताएका हुन् । उनले सरकारी निकाय सहकारीको प्रवद्र्धनका लागि सहयोगीको रुपमा सदैव रहने प्रतिबद्धता जनाए ।

भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारी संस्थामा प्रतिशतको आधारमा भन्दा पनि उल्लेख्यरुपमा युवा तथा महिलालाई जोड्न आग्रह गरेका छन् । उनले सहकारी सञ्चालन गर्ने प्रमुख दायित्व सेयर सदस्यको रहेको बताए । उनले भने, ‘संस्था सञ्चालन गर्ने प्रमुख दायित्व सेयर सदस्यको हो, यसकारण कानुनको आधारमा सेयर सदस्यलाई हिड्न खबरदारी गर्न आग्रह गर्दछु ।’ उनले महानगर सहकारी एकीकरणको अभियानमा अगाडि बढेकोले यसमा सहयोग गरिदिन सहभागीलाई आग्रह गरे ।

वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेत

वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले महिलामाथि हुने हिंसाको प्रमुख कारण आर्थिक पक्ष भएको बताएकी छन् । प्रमुख प्रशिक्षकसमेत रहेकी बस्नेतले महिलामाथि हुने हिंसाको प्रमुख कारण आर्थिक पक्ष भएको भन्दै आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी हुन् । उनले महिलालाई बौद्धिकताको रुपले हेर्नुपर्ने बताइन् । उनले भनिन्, ‘अहिले युवालाई ठूलो चुनौती रहेको छ, युवालाई आकर्षण गर्न प्रविधिमैत्री हुन जरुरी छ ।’ ८ महिनामा पाँच हजार ५०० डिजिटल हिंसाका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएको भन्दै उनले महिलाहरुलाई डिजिटल साक्षरता दिनु अहिलेको प्रमुख आवश्यकता भएको विचार राखिन् ।

युनिक साकोसकी सञ्चालिका शोभा ओली शर्मा

सहकारीमा पछिल्लो समयमा देखिएको समस्या समाधानका लागि सदस्यहरुलाई जागरुक बनाउनु आवश्यक भएको कार्यक्रममा सहभागी सहकारीका अभियन्ताहरुले बताएका छन् । युनिक साकोसकी सञ्चालिका शोभा ओली शर्माले यो विषयलाई अस्त्रलाई शस्त्रमा परिणत गरी सहकारीको दिगो विकासको लागि तलका इकाइदेखि केन्द्रसम्म समेट्नको लागि के–कस्तो नियम र विधान बनेको छ भनी स्पष्ट पारिदिन आग्रह गरेकी थिइन् ।


कार्यक्रममा सहभागी हाम्रो चित्रवन साकोसकी सञ्चालिका किरण कुमारी अधिकारीले कमिसन प्रथाको विकृति बढ्दो रहेको बताएकी छन् । उनले पछिल्लो अवस्थामा युवाहरु विदेशिने क्रम बढ्दो रहेको बताउँदै सहकारी चलाउनको लागि दक्ष श्रमिकको अभाव रहेको गुनासो गरिन् । उनले विदेशिने क्रमलाई रोकेर युवालाई सहकारी प्रति प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>