चितवन विशेष

भरतपुरमा आकाश पौडेलको उपन्यास ‘तपस्या’ माथि विमर्श, किशोरकिशोरीले पढ्नैपर्ने उपन्यास

Banner

चितवन, जेठ १४

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आख्यानकार आकाश पौडेलको उपन्यास ‘तपस्या’ माथि विमर्श गरिएको छ ।

सप्तगण्डकी विम्व यात्राले गरेको कार्यक्रममा कवि भूपिन खड्का, पाठकहरु दिनेश नइसा मगर, अर्जुन अर्यालले उपन्यासमाथि विमर्श गरेका हुन् ।

कवि भूपिनले अहिलेको युवा पुस्ता चिन्तन, सिर्जनशिलता र विश्लेषणभन्दा सतही कुराहरुमा अल्झिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले पुस्तक पढ्ने संस्कृति बलियो भएन भने हामीले सिर्जनाको विकास गर्न नसकिने बताए । उनले भने, ‘तपस्या २०७७ सालमा विमोचन गरियो । कतिपय पात्रहरु मैले बिर्सिएँ । आकाशले जस्तो पुस्तक लेखे, त्यस्तै उनको व्यक्तित्व छ । पुस्तकमा पनि त्यसको प्रतिविम्व छ । ’ तपस्यालाई धेरै कोणबाट छलफल गर्न सकिने बताउँदै उनले उपन्यासकारले धेरै मेहनत गरेको विचार राखे । उनले भने, ‘ कथा भन्ने शैली निकै आकर्षक छ । शब्द एकदमै सरल शब्द छ । समाजमा एउटा युवा र युवतीले कसरी जीवन भोग्छन् भन्ने एकदमै सरले ढंगले देखाइएको छ । शिलशिला र कथावस्तु मिलेको छ । दुईवटा पात्रले उपन्यासलाई सफल बनाउन मद्दत गरिरहेका छन् ।’ भूपिनले किशोरकिशोरीलाई प्रेम कथामा आधारित तपस्या उपन्यास पढ्नको लागि अभिप्रेरित गरे । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख टिकाराम देवकोटाले आकाशको मेहनत र बौद्धिकताको प्रशंसा गरे ।

पाठक दिनेश नइसा मगरले तपस्या उपन्यासमा केही नयाँ शैली प्रयोग गरिएको भन्दै उपन्यास प्रेमिल र वास्तविक रहेको बताए । उनले भने ‘ उपन्यास बुटवल, गोलपार्क, फूलबारी, भरतपुर, क्यान्सर हस्पिटल परिसर वरिपरीको सेरोफेरोमा घुम्ने गर्छ । उपन्यासले युवाअवस्थाको मनोभावनाको विषयलाई उठाएको छ । ’ उपन्यासमा धनी र गरिबबीचको विभेदलाई केही हदसम्म देखाउन खोजिएको उनले बताए । अर्का पाठक तथा सप्तगण्डकी विम्व यात्राको अध्यक्ष अर्जुन अर्यालले पनि उपन्यास युवायुवतीको मन जित्ने प्रकारको रहेको अनुभव सुनाए ।

उपन्यासकार पौडेलले कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि राख्दै गर्दा उपन्यासकारको रुपमा अगाडि बढेको विचार राखे । उनले भने, ‘ मैले तीन चार वर्ष लगाएर उपन्यास तयार गरेको हो । इच्छाशक्ति दरो छ भने असम्भव छैन । लेख्न जति सजिलो छ प्रकाशन गर्न गाहे छ । लेखकको लागि पाठकले राम्रोसँग पढ्ने भन्दा खुसीको विषय अर्काे हुन सक्दैन ।’

विमर्श कार्यक्रममा गजलकार विपिन पाठकसहित क्याम्पसका विद्यार्थीहरुले कविता र गजलहरु पनि प्रस्तुत गरेका थिए । युरिका प्रकाशनले प्रकाशित गरेको उपन्यास २३३ पृष्ठ रहेको छ । उपन्यासकार पौडेल सप्तगण्डकी बहुमुखी क्याम्पसबाट एमबीएस पूरा गरेका छन् । अर्घाखाँचीमा जन्मिएका उनी आफ्नो माध्यमिक तहको पढाई सकेर उच्च शिक्षा हासिल गर्न भरतपुर तानिएका थिए । उनी युवाहरुको समूह ‘लेट्स टक’ का संस्थापक तथा परिकल्पनाकार पनि हुन् । यसले चितवनमा साहित्य मात्र नभई व्यक्तित्व विकास र क्षमता विकासको क्षेत्रमा समेत योगदान दिँदै आएको छ ।
सप्तगण्डकी विम्व यात्राका अध्यक्ष अर्जुन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सप्तगण्डकी विम्व यात्राका पूवकार्यसमिति र सदस्यहरुलाई सम्मानित पनि गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>