समाज

उवासंघ चितवनका महिला उद्यमीको अवलोकन भ्रमण सम्पन्न, भ्रमण फलदायी

Banner

भरतपुर, जेठ १३–

चितवनका महिला उद्यमीद्धारा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुमा संचालित महिला उद्यमशिलता अध्ययन अवलोकन भ्रमण गरीएको छ । सोमवार चितवन उद्योग बाणिज्य संघबाट तीन दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको थियो ।

भ्रमणमा सहभागि महिला उद्यमीहरुलाई भ्रमण सफलताको शुभकामना दिँदै उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भ्रमणबाट उद्यम विकासमा सहयोग पुग्ने बताए । महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित भ्रमण दललाई चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहितको पदाधिकारी र कार्यसमिति सदस्यहरुले बिदाई गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष चुननारायण श्रेष्ठले महिला उद्यमशिलता विकासको लागि भ्रमण फलदायी हुने आशा व्यक्त गरे । भ्रमणले महिलाहरुमा प्रतिष्पर्धी क्षमताको विकासको अलवा नयाँ प्रविधी र बजारको अवस्थाबारे समेत जानकारी प्राप्त हुने उनको अपेक्षा रहेको छ ।

चितवन उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा भएको भ्रमणमा चितवनमा रहेर विभिन्न पेशा र व्यवसायमा सक्रिय १७ जना महिलाहरुको सहभागिता रहेको भ्रमण टोलीका संयोजक तथा चितवन उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पूर्णिमा जोशी श्रेष्ठले जानकारी दिइन् ।

तीन दिने भ्रमणको पहिलो दिन चितवनका महिला उद्यमीहरुले सिन्धुली उद्योग वाणिज्य संघको कार्यसमिति र महिला उद्यमीहरुसंग अन्तरक्रिया गरेका थिए । सो अवसरमा बोल्दै कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठ जोशीले चितवनका उद्योगी महिलाहरुको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् । त्यसैगरी उनले उद्योग वाणिज्य संघ चितवनको लक्ष्य, परिकल्पना र उद्धेश्यहरुका बारेमा जानकारी गराइन् ।

सो अवसरमा बोल्दै उद्योग बाणिज्य संघ चितवनका सदस्य रजनी मास्केले चितवनको कोशेली घरको स्थापना र अहिलेको अवस्थाका बारेमा जानकारी गराइन् । साथै उनले महिला उद्यमीद्धारा २०७६ सालमा सञ्चालित महिला उद्यमी मेलाका बारेमा जानकारी दिदै त्यसलाई निरन्तरता दिन लागिएको बताइन् ।

सो क्रममा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले व्यवसायीक रुपमा सिन्धुली उर्जाशिल जिल्ला भएको बताए । उनले महिलाद्धारा सञ्चालित उद्योगहरु धेरै नै सफल भएको भन्दै उद्योग वाणिज्य संघ सिन्धुलीको कार्यसमितिमा पनि महिलाहरुको राम्रो उपस्थित रहेको बताए । उनले महिला उपाध्यक्ष, सचिव र सात जना गरी नौ जना महिलाहरुको कार्यसमितिमा सहभागिता रहेको जानकारी दिदै महिलाहरुले अवसर पाएमा गर्न सक्ने बताए ।

भ्रमणको दोस्रो दिन जनकपुरधाम उद्योग वाणिज्य संघका साथै त्यहाँ सञ्चालित नारी विकास केन्द्र जनकपुरले सञ्चालन गरेको उद्योग घरमा आवद्ध महिला उद्यमीहरुसँग महिला उद्यमशिलताका विविध आयामहरुकाबारे छलफल र अनुभव आदान प्रदान गरीएको थियो । त्यसैगरी भ्रमणको अन्तिम दिन उद्योग वाणिज्य संघ मकवानपुरसंग अन्तरक्रिया गरिएको थियो ।

सो भ्रमणमाका क्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य योगिता पियाले भ्रमणबाट धेरै अनुभव सिक्न पाएको बताइन् । उनले मनमा ईच्छाशक्क्ति भएमा उमेरले नछेक्ने भन्दै जेष्ठ आमाहरुले गरेको कामबाट धेरै प्रेरणा मिलेको बताइन् ।

त्यसैगरी अर्का कार्यसमिति सदस्य दिपा शाहीले भ्रमणले संस्था संचालनको अनुभव र कार्यशैलीको आदानप्रदान गर्न निकै सहयोग पुगेको बताइन् । कार्यसमिति सदस्य सुनिता कर्मचार्यले महिला उद्यमीहरुका लागि अहिलेको आर्थिक मन्दी चुनौति र अवसर दुवै भएर आएको बताइन् । उनले उद्यमी महिलाहरुको क्षमता अभिबृद्धिका लागि भ्रमण फलदायी रहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>