चितवन विशेष

नारायणी किनारमा कवि दिपा राईको सुमधुर गुञ्जन, जीवनलाई सरलरुपमा जिउन सन्देश

Banner

चितवन, जेठ ९-

नारायणी किनारमा साँझ पख हल्का हावा चल्दै गरेर सूर्यास्तको समय भइरहेको थियो । विभिन्न चर्चित नेपाली गीतकी सर्जकसमेत रहेकी कवि दिपा राईले सुमधुर स्वरमा आफ्ना कविताहरुको वाचन सुरु गरिन् । गैँडाकोटको नारायणी रिसोर्टको प्रेक्षालयमा सोमबार साँझ तालीको गडगडाहट सुरु भयो । गीतको गुञ्जन जस्तै सुनिने उनका कवितामा दर्शकहरुले ‘वान्स मोर’ भने । यो परिदृश्य सोमबार साँझ गरिएको एकल कविता बाचन कार्यक्रमको थियो ।

कार्यक्रमलाई अक्षर समूह चितवनले संयोजन गरेको थियो । कार्यक्रममा चितवन र नवलपुरका पुराना र नयाँ साहित्यकारहरू तथा कविताका पारखीहरुको उपस्थिति थियो ।

अमेरिकामा बसोबास गर्ने कवि दिपा राई देश तथा विदेशमा चिरपरिचित नाम हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको निवर्तमान अध्यक्ष रहेकी राई कोमल भाषामा कविता प्रस्तुत गर्छिन् । एकल कविता वाचनमा सबै भन्दा धेरै दर्शकहरुले उनले कवितामा सबैभन्दा धेरै प्रयोग गर्ने फूलको विम्वलाई मन पराए । उनका १२ वटा कविता सुनेर सबै दर्शक मन्त्रमुग्ध भए ।

एकल कविता वाचनको समीक्षात्मक टिप्पणी युवा कवि भूपिन खड्का र उदय अधिकारीले गरे । कवि भूपिनले भने, ‘ दिपा राईका कवितामा गहिरो जीवन दर्शन पाइन्छ । कविता सुन्दा मन्त्र जस्तो लाग्छ । मानिसलाई ध्यानमग्न बनाउँछ ।’ जीवनलाई जटिल भन्दा पनि एकदमै सरल रुपमा बिताउने र सानातिना कुराहरुमा पनि खुसी प्राप्त गर्न सिकाउने उनको कविताको दर्शन रहेको भूपिनले बताए ।
कार्यक्रममा ‘छुटेको बागदाता’, ‘दियोको अन्तिम लप्का’ र ‘शरद्का पहेंला पातहरु’ लगायतका कवितासंग्रहबाट कवि राईले दुई चरणमा दर्जन कविता वाचन गरिन् । कार्यक्रमका सभापति अक्षर समूह चितवनक अध्यक्ष रमेश प्रभातले कार्यक्रम निकै शानदार एवम् भव्यताका साथ सम्पन्न भएकोमा उपस्थित सबै सबैमा हार्दिक आभारसहित कवि दिपा राई पुनलाई धन्यवाद दिए ।

कार्यक्रममा कविका बारेमा आफ्नो दृष्टिकोण कवि रञ्जना लिम्बूले व्यक्त गरिन् । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, पूर्णप्रसाद अधिकारी, रमेश प्रभात, सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, सिर्जन अविरल, प्रभाकर पण्डित, प्रकाश चापागाईं, उपेन्द्रबाबु त्रिपाठी, युवा संगितकार निर्दोष मन , युवा गजलकार प्रेम कँडेल लगायतका उल्लेख्य साहित्यिक मनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई अक्षर समूहका सचिव लेखराम सापकोटाले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>