अपराध

गाडीमा चितवनसहित विभिन्न ठाउँमा पुर्‍याएर पैसा अुसली गर्ने हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

Banner

काठमाडौं, जेठ ४-

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका मियाँ आज बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन् ।

बीएबी १४०५ नम्बरको गाडीमा उनले भण्डारी, दुलालहरुले चितवनसहित विभिन्न स्थानमा पुगेर पीडितहरुसँग रकम उठाएका थिए । कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई लगेर गणनामा छुट शरणार्थीको फारम उनीहरुले भराएका थिए ।

ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार मियाँ मोबाइल अफ गरेर बसे पनि सचिवालयबाट विभिन्न कागजपत्रहरुले सूचना केही दिन अघि आएको थियो । ‘केही नजिकका कर्मचारीलाई कागज पत्र मागेर हस्ताक्षर गर्दै पठाउने गरेको पाइएपछि गोप्य निगरानी बढाएका थियौं’, एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसक्रममा आज ऊर्जा मन्त्रालयमा बसेर काम गर्न खोज्दा पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार उनी कागजपत्रसहित पक्राउ परेका हुन् । हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीमार्फत प्रकरणका विचौलियाहरुसँग जोडिएका मियाँले आफूले प्रयोग गर्ने गरी गृह मन्त्रालयबाट लिएको गाडी ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई दिएका थिए ।
प्रहरीले मियाँलाई जिल्ला प्रहरी परिसर, टेकु ल्याएको छ । उनलाई आजै अदालत उपस्थित गराएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>