चितवन विशेष
कविडाँडा साहित्य समाज चितवनले जेठ ६ गते चार पुरस्कार बितरण गर्दै

चितवन, जेठ ३-
चितवनको अग्रणी साहित्यिक संस्था कविडाँडा साहित्य समाजले चार साहित्यकारलाई विभिन्न विद्याका पुरस्कार दिने भएको छ ।
संस्थाको २१ औं वार्षिकोत्सवको अवसरमा चार स्रष्टालाई जेठ ६ गते विभिन्न पुरस्कार बितरण गर्न लागेको हो ।
समाजका संरक्षक तथा अध्यक्ष साहित्यकार एलबी क्षेत्रीका अनुसार यस वर्ष समाजले समाजले स्थापना गरेका चार पुरस्कार विभिन्न स्रष्टालाई प्रदान गर्दे छ । कृतितर्फ कथाकार सिताराम कोइरालाको कथासंग्रह ‘जेम्स बौलाएको दिन’ ले कृति पुरस्कार, चितवनकी अग्रज साहित्यकार सरस्वती रिजाललाई देव–खिना स्मृति पुरस्कार, चितवनका लेखक तथा पत्रकार विनोदबाबु रिजाललाई बाङ्मयी युवा प्रतिभा पुरस्कार प्रदान गरिने क्षेत्रीेले नारायणी अनलाइनलाई जानकारी गराए । त्यस्तै ३० हजार १६० रुपैयाँ राशीको सुवर्ण–तुल्सी काब्य पुरस्कार भने इटहरीका कवि मनु मञ्जिलले पाउने भएका छन् । समाजका अध्यक्ष क्षेत्रीले अष्ट्रेलियाबाट सन्देश पठाउँदै आफू विदेशमा रहेको भए पनि वार्षिकोत्सवको सफलताको शुभकामना दिएका छन् । अन्य तीन पुरस्कारको राशी भने १५ हजार १६० रुपैयाँ रहेको छ ।
विसं २०६० सालमा स्थापित भएको कविडाँडा समाजले नेपाली साहित्यको प्रवद्र्धनको लागि विभिन्न गोष्ठीहरु, कार्यशाला, पुस्तकबारे विमर्श गर्दे आइरहेको छ । हरेक वर्ष कात्तिकमा नेपालकै ठूलो राशीको आख्यान पुरस्कार पनि कविडाँडा साहित्य समाजले नै वितरण गर्छ ।
समाजका उपाध्यक्षमा लेखक तथा समालोचक उदय अधिकारी, सचिवमा कवि गणेश श्रवण, कोषाध्यक्षमा नवराज ढुंगाना रहेका छन् । समाजले जेठ ६ गते चितवन साहित्य परिषद्को सभाहलमा वार्षिकोत्सव कार्यक्रम गरेर ती पुरस्कार बितरण गर्दै छ ।
फाइल फोटो