अपराध

चितवनका व्यवसायी कँडेलको न्यायका लागि कानुनमन्त्री गुरुङको ध्यानाकर्षण

Banner

चितवन, जेठ १-

चितवनका व्यवसायी कँडेलको न्यायको लागि चितवन उद्योग संघले कानुनमन्त्री धनराज गुरुङको ध्यानाकर्षण गराएको छ ।

स्वर्गीय कँडेल निवासमा आयोजित शोकसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले ध्यानाकर्षणपत्रमार्फत् न्यायको लागि ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘स्व.कँडेलको मिति २०८० वैशाख १९ गते मंगलबार आफ्नै कार्यालयमा भएको अप्रत्यासित देहत्यागबाट सम्पूर्ण निजी क्षेत्र स्तब्ध भएको छ । उहाँको निधनबाट चितवनले औद्योगिक क्षेत्रका एक होनाहार उद्योगी गुमाउनुको साथै देशले एक असल, इमान्दार, कर्तव्यनिष्ठ औद्योगिक अभियन्ता गुमाएको छ ।’

ध्यानाकर्षण पत्रमा घटनास्थलमा स्व. कँडेलद्वारा आफ्नै हस्ताक्षरमा लेखिएको मृत्युवरण गर्नुको कारण उल्लेख भएको पत्र भेटिनु र व्यवसायिक साझेदारहरुको अस्वभाविक दबाबका कारण मृत्युकोे बाटो रोजिन पुग्नुले स्वदेशमा नै केही गरी खान्छु भनि उद्यमशिलतामा लागिरहेका आमनागरिकहरुलाई थप प्रताडित बनाएको समेत उल्लेख गरिएको छ ।

घटना घटेको १३ दिन बितिसक्दा पनि सुसाइड नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई किटानी जाहेरी दिएको अवस्थामा पनि उल्लेखित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएर अनुसन्धान गर्न नसक्नुले न्याय प्रशासनप्रति आम उद्योगीहरुलाई सशंकित बनाएको पत्रमा उल्लेख गरिएको छ । संघले न्यायिक समिति गठन गरेर सत्यतथ्य छानबिन गरी यथासीघ्र दोषीलाई हदैसम्मको कारबाही गर्न कानुनमन्त्रीसँग माग गरेको छ ।

पत्रमा स्वर्गीय कँडेलको न्यायका लागि सुरुवातदेखि नै भएका शान्तिपूर्ण आन्दोलनमा चितवन उद्योग संघको ऐक्यबद्धता रहँदै आएको, दोषीलाई न्यायिक हिरासतमा नल्याएमा र घटनाको यथार्थता सार्वजनिक नभएमा चरणबद्धरुपमा थप आन्दोलन गर्न बाध्य हुने व्यहोरा समेत उल्लेख गरिएको छ । साथै कानुनमन्त्री गुरुङलाई देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेर देशभित्रै रोजगारी सिर्जना गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुमा कति पनि बिचलन आउन नदिने गरी उद्योगी व्यवसायीहरुलाई परेको हरेक समस्यामा समेत अभिभावकीय भूमिका खेलिदिन संघले अनुरोध गरेको छ । ध्यानकर्षणपत्रमा देशको वर्तमान विषम् आर्थिक परिस्थितिमा उद्यमशिलतालाई जीवन्त राख्नका लागि राज्यका तर्फबाट समेत स्पष्ट योजना ल्याउन जोडदार मागसमेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>