चितवन विशेष

भरतपुर महानगरपालिकाका १२६ छात्रालाई मेयर रेनु दाहालले बाडिन् साइकल

Banner

चितवन, वैशाख ३१-

छात्रासँग मेयर कार्यक्रमअन्तर्गत भरतपुरका १२६ छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

छात्राहरुलाई शिक्षाको पहुँच पुराउने उद्देश्यले २०७६ सालदेखि यो कार्यक्रम लागू गरिएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज छात्राहरुलाई साइकल वितरण गरेकी छन् । महानगरपालिकाले ६ वडाका १३ विद्यालयमा अध्ययन गर्ने बिपन्न छात्राहरुलाई साइकल वितरण गरिएको महानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ ।

महानगरपालिकाले यस अघि २२ वटा वडाका बिपन्न छात्रालाई साइकल वितरण गरिसकेको छ भने वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपीडी टिकट, छोरी जीवन बिमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याइएको बताइन् ।

मेयर दाहालले छोरीहरुले घरमा गर्नुपर्ने कामहरु धेरै हुने र विद्यालय जान ढिलो हुने भएकाले साइकल बितरण गरिएको उल्लेख गरिन् । महानगरपालिकाले अति विपन्न परिवारका छात्राहरुलाई विद्यालय शिक्षामा पहुँच पु¥याउने उद्देश्यले कक्षा ६ देखि १२ कक्षाका किशोरीहरुलाई साइकल वितरण गर्दै आएको छ ।

महानगरपालिकाकी मेयर दाहालले भरतपुर पूर्वाधारको क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताइन् । यो ६ वर्षको अवधिमा ८ हजार विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा वृद्धि गर्न सफल भएको जानकारी दिइन् । नारायणी मावि जस्तै भरतपुरका अन्य विद्यालयमा पनि आकर्षण बढाउन विभिन्न छात्रावृत्तिका कार्यक्रम, न्यानो कपडाको कार्यक्रम, दिवा खाजा, विद्यालयलाई बसलगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको बताइन् । प्रमुख दाहालले साइकल प्राप्त गर्ने विद्यार्थीलाई दुरुपयोग नगर्न सुझाव दिँदै उज्जवल भविष्यको कामना पनि गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>