Breaking News

चितवनमा कँडेल आत्महत्याको १२ दिनः पक्राउ परेनन् रुगटा, भारत भागेकोले सम्पति बेचबिखनमा रोक्का

Banner

चितवन, वैशाख ३०–

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु भएको शनिबार १२ दिन बित्दा पनि आत्महत्या दुरुत्साहनको मुख्य आरोपी प्रदिप रुगटा पक्राउ पर्न सकेका छैनन् ।

चितवन प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न नसकेको हो । उनी भारत भागेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक निर्मल पनेरुले रुगटाको खोजी भइरहेको तर पत्ता लगाउन नसकिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

घटना आत्महत्या दुरुत्साहनमा केन्द्रित भए पनि अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा घटनाका अन्य ‘शंकास्पद’ पाटाहरू खुल्न सकेका छैनन् ।
कँडेलको न्यायको लागि यसअघि विभिन्न विरोधको कार्यक्रममा संलग्न रहेका चितवन कांग्रेसका पूर्वसभापति जितनारायण श्रेष्ठले गृहमन्त्रालयले रुगटा भारततिर भागिसकेको जानकारी गराएको बताए । उनले भने, ‘ सरकारले रुगटा र उनको श्रीमतीको नाममा रहेको सम्पति र बैँकमा रहेको पैसा भोगचलन गर्नबाट रोक लगाएको छ । ’

वैशाख १९ गते कँडेल भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा साँझ फेला परेका थिए । प्रहरीले घटनास्थलबाट आठ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको थियो । सुसाइड नोटमा उनको व्यवसायसँग जोडिएका दुई जनाको नाम लिएका थिए । जसको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कँडेलको आत्महत्यासँगै नेपाली कांग्रेस चितवन र उनका समर्थकहरुले चितवन बन्द गर्नुको साथै चितवनमा चक्का जाम गरेर फरार अभियुक्तलाई पक्राउ गर्न दबाब दिएका थिए ।

त्यस्तै, कँडेल नेपाली कांग्रेसको पूर्व कोषाध्यक्ष तथा महासमिति सदस्य पनि भएकोले चितवन कांग्रेस सभापति राजेश्वर खनालसहितको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेको थियो ।

आत्महत्या दुरुत्साहनमा उजुरी परेपछि प्रहरीले कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावललाई भने पक्राउ गरेर हिरासतमा राखेको छ । रावललाई भने वैशाख २१ गते बारा जितपुर सिमराबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो । यता रुंगटा भने फरार रहेका छन् । उनी देश बाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ । त्यस्तै फरार रुगटालाई खोजी गर्न सीआइबीको टोलीले पनि सहयोग गरिरहेको जनाइएको छ । उनी भारतमा लुकेर बसेको प्रहरीको आशंका रहेको छ । केही महिनाअघि मृतक कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स एक अर्ब १५ करोडमा बेचेका थिए । आन्तरिक हिसाब मिलानका क्रममा रुंगटाले रावललाई मानसिक दबाब दिएको खुलेको छ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो । ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ । त्यसपछि प्रहरीले यस्ता घटनामा प्रहरीले मानिस पक्राउ गरेर अनुसन्धान गर्न थालेको हो । मृतकले लेखेको सुसाइड नोट, भिडियो, आफन्तले दिएको उजुरी लगायतका आधारमा प्रहरीले यस्ता घटनाको अनुसन्धान गर्दै आएको छ । व्यवसायी रुंगटालाई पक्राउ गरेर अनुसन्धान गर्ने पहिलो प्रमाण घटनास्थलमा भेटिएको नोट र पीडित परिवारको उजुरी बनेको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा थप प्रमाण खोजिरहेको छ । प्रहरीले रुगटालाई पक्राउ गरेर अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय हुँदै अदालतमा पु¥याउने छ । त्यसपछि आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>