चितवन विशेष

चितवन कचेहेरीः धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन हुँदैन

Banner

चितवन, वैशाख ३०-

धर्म परिवर्तनबाट जातीय व्यवस्थाको उन्मुलन नहुने अधिकारकर्मीले बताएका छन् ।

नारायणी कला मन्दिर चितवनमा चलिरहेको चितवन कचेहेरीको दोस्रो दिनमा गरिएको ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ विषयक छलफलमा उनीहरुले यस्तो बताएका हुन् ।

सामाजिक अभियानकर्मी रुपा सुनारले धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन नहुने दाबी गरेकी छन् । ‘दलित समुदायले पुस्तौंदेखि विभेद भोगिरहेको छ । पहिले र अहिलेको विभेदको प्रकृति फरक त भएको छ तर विभेद कायमै छ । यसबाटै उन्मुक्तिका लागि कम विभेदको आशामा धर्म परिवर्तन भइरहेको छ, उनले भनिन् ‘धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन हुन्छ भन्नु तावाको माछा भुंग्रोमा गएजस्तै हो ।’ उनले दलित मुक्तिका लागि सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने धारणा राखिन् । दलित आन्दोलनभित्र दलित महिलाहरुलाई नेतृत्व दिन तयार नभएको उनले बताइन् ।

सामाजिक अभियानकर्मी विकास विश्वकर्माले ऐन कानुन बने पनि विभेद हट्न नसकेको बताए । पछिल्लो १० वर्षको तथ्यांक सार्वजनिक गर्दै विश्वकर्माले प्रत्येक तीन महिनामा दलित भएकै कारण एक जना मारिने गरेको बताए । ‘जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बन्यो । तर, २०७८सम्म आउँदा दलित भएकै कारण ४० जना मारिए,’उनले भने, ‘ऐन बने पनि सामाजिक विभेद हटेन् ।’ जातीय विभेदको अन्तय गर्न गैरदलित समुदाय पनि लाग्न उनले अनुरोध समेत गरेका छन् ।

लेखक एवम् अध्येता शिवहरि ज्ञवालीले परिवार र समाजले जातीय भेद्भाव गर्न सिकाएको बताए । नेपालमा २००३ सालदेखि दलित मुक्ति आन्दोलन भएको मानिन्छ । चितवनमा भने २०२० सालदेखि दलित समुदाय संगठित भएर आन्दोलित भएको ज्ञवाली बताए । चितवनको माडी, जुगेडी, नारायणगढमा समेत दलित समुदायले आन्दोलन गरेको बताए । ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ सत्रको सहजीकरण मनोज लोहारले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>