Breaking News

चितवनका व्यवसायी कँडेल आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुगटा भारतमा लुकेको आशंका

Banner

चितवन, वैशाख २६-

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

घटना आत्महत्या दुरुत्साहनमा केन्द्रित भए पनि अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा घटनाका अन्य ‘शंकास्पद’ पाटाहरू खुल्न सकेका छैनन् ।
वैशाख १९ गते कँडेल भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा साँझ फेला परेका थिए । प्रहरीले घटनास्थलबाट आठ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको थियो । सुसाइड नोटमा उनको व्यवसायसँग जोडिएका दुई जनाको नाम लिएका छन् । जसको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कँडेलको आत्महत्यासँगै नेपाली कांग्रेस चितवन र उनका समर्थकहरुले चितवन बन्द गर्नुको साथै चितवनमा चक्का जाम गरेर फरार अभियुक्तलाई पक्राउ गर्न दबाब दिएका थिए । त्यस्तै, कँडेल नेपाली कांग्रेसको पूर्व कोषाध्यक्ष तथा महासमिति सदस्य पनि भएकोले चितवन कांग्रेस सभापति राजेश्वर खनालसहितको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेको थियो ।

आत्महत्या दुरुत्साहनमा उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । त्यस्तै अर्का एक जना भने फरार रहेका छन् ।
घटनामा जोडिएका पात्रहरू नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीपकुमार रुंगटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल हुन्। रावललाई भने वैशाख २१ गते बारा जितपुर सिमराबाट पक्राउ गरिसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो ।

‘हामी यस घटनामा अनुसन्धान गरिरहेका छौँ । अहिले यति भन्ने अवस्था छ,’ बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण रानाले भनिन्।यता रुंगटा भने फरार रहेका छन् । उनी देश बाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ । त्यस्तै फरार रुगटालाई खोजी गर्न सीआइबीको टोलीले पनि सहयोग गरिरहेको छ ।

‘हामीले पनि फरार रहेका व्यक्तिलाई हेरिरहेका छौँ । अहिलेसम्म पाएको सूचनाको आधारमा उनी नेपालभित्र रहेको देखिएन,’ एक प्रहरी अधिकृतले भने । उनी भारतमा लुकेर बसेको प्रहरीको आशंका रहेको छ । उजुरी परेपछि रुगटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुँदा सम्मको लागि संघले निलम्बन गरेको छ । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स एक अर्ब १५ करोडमा बेचेका थिए । आन्तरिक हिसाब मिलानका क्रममा रुंगटाले रावललाई मानसिक दबाब दिएको खुलेको छ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो । ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ । त्यसपछि प्रहरीले यस्ता घटनामा प्रहरीले मानिस पक्राउ गरेर अनुसन्धान गर्न थालेको हो । मृतले लेखेको सुसाइड नोट, भिडियो, आफन्तले दिएको उजुरी लगायतका आधारमा प्रहरीले यस्ता घटनाको अनुसन्धान गर्दै आएको छ । व्यवसायी रुंगटालाई पक्राउ गरेर अनुसन्धान गर्ने पहिलो प्रमाण घटनास्थलमा भेटिएको नोट र पीडित परिवारको उजुरी बनेको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा थप प्रमाण खोजी रहेको छ । प्रहरीले रुगटालाई पक्राउ गरेर अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय हुँदै अदालतमा पु¥याउने छ । त्यसपछि आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>