Breaking News

म माथि विभिन्न प्रश्न उठेको छ, म डराउँदिन: आरजु राणा

Banner

काठमाडौँ, वैशाख २४-

नेपाली कांग्रेसकी सांसद आरजु राणाले संसद्मै आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको बताएकी छन् । उनले आफूले केही नबिराएको पनि दाबी गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राणाले तथ्यमा आधारित भएर कुरा गर्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन् । साथै कसको कति सम्पत्ति बढ्यो ? कति घट्यो ? छानबिन गर्न माग गरिन् ।

‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै बोल्नुपर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ,’ उनले अघि भनिन्, ‘यस्तो नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत छ । हामीले संविधानमार्फत् यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’
उनले तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न आग्रह गरिन् । ‘हामीले पटक–पटक सम्पत्ति विवरण बुझाउँछौँ, मेरो श्रीमान् पाँच–छ पटक प्रधानमन्त्री हुनुभयो, मेरो लगायत मेरो श्रीमान्को सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेभसाइटमा राखियोस्, सार्वजनिक गरियोस्,’ उनले भनिन्, ‘हामी कहिले कुन अवस्थामा थियौँ, कसको कति सम्पत्ति थियो ? कसको बढ्यो ? कसको घट्यो ? के स्रोत हो ? सबैको सम्पत्तिको छानबिन होस् ।’

सांसद्ले भारतमा न्यायलयका कर्मचारीले हरेक महिना खर्चको विवरण सार्वजनिक गर्ने गरेको भन्दै नेपालमा पनि त्यस्तै कानून ल्याउन सक्नुपर्ने बताइन् । ‘भारतमा हरेक महिना न्यायालयका कर्मचारीले आफ्नो सबै हिसाब बिल सार्वजनिक गर्नुपर्छ । के हामी त्यस्तै कानून यहाँ ल्याउन सक्छौँ ?,’ उनले प्रश्न गर्दै अघि भनिन्, ‘कुरा ठूलठूला गर्ने, भाषण जे पनि गर्ने । अनि तथ्यमा आधारित हुनुपर्छ कि पर्दैन ?’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>