चितवन विशेष
चितवनका गजलकार किसान प्रेमीले ल्याए पहिलो लघुकथा संग्रह ‘झुपडीको व्यथा’

चितवन, वैशाख २०-
चितवनका अग्रज गजलकार तथा कवि किसानप्रेमीले पहिलो लघुकथा संग्रह ‘झुपडीको व्यथा’ बजारमा ल्याएका छन् ।
यसअघि दुई गजल संग्रह र एक खण्डकाब्य प्रकाशन गरिसकेका प्रेमी कथा संग्रहमार्फत कथाकारका रुपमा उदाएका हुन् ।
१०४ पृष्ठको लघुकथा संग्रहमा ३२ वटा कथा संग्रहित रहेका छन् । उनको कथाहरु चितवनको सामाजिक परिवेश, जातीय उत्पिडन, गरिबी, असमानता, भष्ट्राचार र राष्ट्रिय समाचारका विषयवस्तुहरुमा आधारित रहेका छन् ।
गजल क्षेत्रमा लागेर एक दर्जन भन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरेका किसानप्रेमीको यसअघि विसं २०५९ मा पहिलो कृति गजलसंग्रह ‘गाउँबस्ती रोइरहेछ’, २०६३ मा ‘गजब छ मान्छे’ र २०६९ सालमा चेतना खण्डकाब्य प्रकाशित भइसकेका छन् ।
रौतहटका साहित्यकारहरुको प्रेरणाले निरंकुश पञ्चायती व्यवस्थाको समयमा विसं २०३६ सालबाट साहित्य क्षेत्रमा प्रवेश गरेका किसानप्रेमीको २०५२ सालबाट विभिन्न अखबार तथा पत्रकात्रिकामा गजल छापिन सुरु भएको हो । बागलुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाएका किसान प्रेमीको वास्तविक नाम किसान विक हो । फुटबलमा एन्फाको राष्ट्रिय कोचसमेत रहेका उनी सरकारी जागिरेको रुपमा विभिन्न जिल्लाहरुमा काम गरे । अहिले सरकारी सेवाबाट सेवा निवृत्त भएका उनी लेखनमा झनै सक्रिय छन् ।