Breaking News

व्यवसायीहरुको प्रश्नः कँडेलले आत्महत्या गर्नुपर्ने अवस्था कसरी आयो ? सत्यतथ्य छानबिन होस्

Banner

चितवन, वैशाख २०-

चितवनका पोल्ट्री र दाना व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले सफल व्यवसायी शंकरप्रसाद कँडेलले आत्महत्या गर्नुपर्ने अवस्थाबारे अबिलम्ब सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाट, चितवन नवलपुर दाना बितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल लेयर्स कुखुरा कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेशका अध्यक्ष परशुराम अधिकारी र नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले संयुक्तरुपमा आज विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी व्यवसायीलाई आत्महत्या गर्न बाध्य पार्नेहरुलाई कानुनी कारबाहीको माग गरेका हुन् ।

उनीहरुले बिगत १५ वर्षदेखि पशुपंक्षीको लागि दाना उत्पादन, चल्ला उत्पादन र अण्डा उत्पादन गर्दै करिब १५० जनालाई रोजगारी दिँदै आएका व्यवसायी कँडेलको निधनले सिंगो नेपाली पोल्ट्री क्षेत्र मर्माहत र दुःखी भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा कँडेलले आत्हत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना हुनपुग्यो त्यसतर्फ राज्यका निकायहरु गम्भीर र जिम्मेवार हुनुपर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको कारण उद्योग व्यवसायीहरुलाई बैँक तथा बित्तीय संस्थाहरुले दिने तनाव, उद्योग व्यवसाय सञ्चालनको लागि पूँजीको अभाव, उधारो कारोबार गर्नुपर्ने अवस्था, उधारो असुलीमा हुने ढिलासुस्तीको कारण चालुपूँजीको अभाव यावत कारण व्यवसायीहरु अत्यन्त कठिन अवस्थामा गुज्रन परेको छ । शंकरप्रसाद कँडेलको असमायिक निधनको सत्यतथ्य छानबिन गरी उहाँलाई मृत्युवरण गर्न बाध्य पार्ने तत्वहरुको पहिचान गर्नको लागि हामी जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा व्यवसायी कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने तत्वहरुको पहिचान गरी आत्महत्या दुरुत्साहन कानुनअनुसार कारबाही गर्नको लागि माग गरिएको छ । विज्ञप्तिमा उद्योग व्यवसाय सञ्चालन गरी रोजगारीको अवस्था सिर्जना गर्ने, देशको अर्थतन्त्रमा सहयोग पु¥याउने व्यवसायीहरुले मृत्युवरण गर्न बाध्य हुनु चिन्ताको विषय भएकोले राज्य जिम्मेवार र गम्भीर बन्न माग गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>