चितवन विशेष

मजदूरहरुले बिहान बेलुकाको छाक टार्ने अवस्थासमेत नरहेको भन्दै एमाले चितवनको चिन्ता

Banner

चितवन, वैशाख १८-

नेकपा एमाले चितवनले देशमा छाएको आर्थिक मन्दीले मजदूरहरुले बिहान बेलुकाको छाक टार्ने अवस्थासमेत नरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मजदूर दिवसको अवसरमा एमालेले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले निर्माण क्षेत्रमा काम गरेका व्यवसायी र मजदुरहरुलाई भूक्तानी गर्नुपर्ने ८० अर्बभन्दा बढी रकम भुक्तानी नदिएर निर्माण क्षेत्रमा काम गरिरहेका मजदुरहरुको बिहान बेलुकाको छाक टार्ने स्थितिसमेत नरहेको उल्लेख गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान गठबन्धन सरकारले श्रमिकहरुको हक, हित र अधिकारको निम्ति थप नीति निर्माण गर्नुको बद्ला सञ्चालित उद्योग धन्दा बन्द गर्ने, पहिले काम गरेका र निवृत्त जीवन बिताएका मजदुरहरुको पेन्सनबापत पाउने पाँच अर्बभन्दा बढी रकम पाउन सकेका छैनन् । वैदेशिक ऋण र साँवाव्याज भुक्तानी गर्नसमेत धौ धौ परिरहेको परिप्रेक्षमा समग्र राष्ट्रले तत्काल भुक्तानी गनुपर्ने एक खर्ब २० करोड रकम अपुग देखिँदै छ ।’

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशमा चारैतिर निराशा, कुण्ठा, आक्रोश र डरत्रासको वातावरण सिर्जना भइरहेको उल्लेख गरिएको छ । देश समग्रमा सङ्कटापन्न अवस्थामा गुज्रिरहेको यो अवस्थामा नेपाली श्रमिक वर्गको राजनीतिक प्रतिनिधि पार्टी नेकपा (एमाले) देशको यस्तो अवस्थालाई टुलुटुलु हेरेर बस्न नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान शासनसत्ता सञ्चालकहरु देश र जनताविरोधी हरेक हरकतलाई नेपाली श्रमिक वर्गबीच भण्डाफोर गर्दै आममजदुर वर्गमा सचेतनापूर्वक जागरण अभियान सञ्चालन गर्नुपर्ने दायित्व हामीले गम्भीरतापूर्वक बोध गरेका छौँ । हाम्रा पूर्वजहरुले उठाएको रक्तरञ्जित झन्डालाई नेपाली माटोमा दृढतापूर्वक ठड्याउने अभियानमा एकजुट भई जुटौँ । मजदुरहरुका अपूरा मागहरुलाई आगामी दिनमा पूरा गर्ने सङ्कल्पसहित अगाडि बढौँ ।’

आठ घण्टा श्रम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारालाई व्यावहारिक रुपमा लागू गर्ने ध्ययले आजभन्दा १३४ वर्षअघि अमेरिकी मजदूरहरुले घन्काएको नारा आज संसारका सबै देशहरुले सिद्धान्ततः स्वीकार गरे पनि व्यावहारिक रुपले नेपाललगायत अन्य कतिपय देशमा अझै पनि लागू हुन नसकेको एमाले चितवनले जनाएको छ । विज्ञप्तिमा न्याय, समानता र स्वतन्त्रताको यस युगमा पछौटे उत्पादन सम्बन्धका कारणले मजदुर वर्गले देखेको र कल्पना गरेको समाज निर्माणमा अझै धेरै मेहनत र संघर्षको आवश्यकता देखापरिरहेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>