Breaking News

नारायणीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले पायो

Banner

काठमाडौं, वैशाख १५–

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।  सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गरेको महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले बताए।

नेपालमै पहिलोपटक बन्न लागेको फरक डिजाइनको उक्त पुललाई ‘सिग्नेचर ब्रिज’ का रूपमा चिनिने छ। तर, उक्त पुल वास्तविक सिग्नेचर ब्रिज नभई सिग्नेचरजस्तै हुने महाशाखाले जनाएको छ। आशयपत्रको म्याद सात दिनको हुन्छ। सात दिनभित्र तुँदी कम्पनीको नाममा कसैले उजुरी नगरे महाशाखा र निर्माण कम्पनीबीच निर्माणका लागि ठेक्का सम्झौता हुन्छ।

‘आशयपत्रको म्याद सात दिनको हुन्छ, त्यसपछि सम्झौता गर्ने पत्र निर्माण कम्पनीलाई पठाउँछौं,’ सिडिई भट्टले भने, ‘त्यो पत्र पठाएको १५ दिनभित्र ठेक्का सम्झौता गर्नुपर्छ।’

उनका अनुसार निर्माण कम्पनीले ठेक्का सम्झौता भएको मितिबाट चार वर्षभित्र पुल निर्माण सक्नुपर्छ। महाशाखाले ठेक्का सम्झौता गरेर डिजाइनदेखि निर्माणसम्मको सबै काम निर्माण व्यवसायीलाई दिन्छ।

तुँदी कन्स्ट्रक्सनले सम्झौता गरेको तीन महिनाभित्र पुलको डिजाइन महाशाखामा पेस गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले पेस गरेको पुलको डिजाइन महाशाखाले नौ महिनाभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ।

‘ठेक्का सम्झौता गरेको मितिबाट पुलको डिजाइन तीन महिनाभित्र तयार गरी महाशाखामा पेस गरेर सम्झौताको एक वर्षभित्र स्वीकृत गराइसक्नुपर्ने दायित्व निर्माण कम्पनीलाई छ। त्यसबीचमा हामीले डिजाइन अध्ययन गरेर स्वीकृत गर्नुपर्छ,’ सिडिई भट्टले भने।

यसरी हेर्दा २०८१ जेठबाट नारायणीमा सिग्नेचर ब्रिज निर्माण सुरु हुन्छ। नेपालमा निर्माण भएका अन्य पुलभन्दा नारायणीमा बन्न लागेको पुलको लागत पनि बढी छ। ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने सिडिई भट्ट बताउँछन्।

सिग्नेचर ब्रिज निर्माणका लागि पुल महाशाखाले आह्वान गरेको ठेक्का प्रक्रियामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सनको मात्र आवेदन परेको थियो। जसमध्ये प्रविधिक र आर्थिकरूपमा तुँदी उपयुक्त देखिएको महाशाखाले जनाएको छ।

हाल सञ्चालनमा रहेको पुलको तल्लो भागमा सिग्नेचर पुल बनाउने योजना छ। तर, निर्माण कम्पनीले डिजाइन बनाउँदा ५ सय मिटरसम्म वरपर सार्न मिल्ने भएकाले अहिले नै पुल निर्माणको यकिन स्थान भन्न नसकिने इन्जिनियरहरू बताउँछन्।

नारायणीमा सिग्नेचर पुल दुई लेनको बन्ने छ। हाल सञ्चालनमा रहेको पुल पनि दुई लेन र ४ सय २० मिटर लाम्बाइको छ। पुल डिजाइन बनाउन नेपाली वा विदेशी जो भए पनि अन्तर्राष्ट्रिय विज्ञ हुनुपर्ने महाशाखाका अर्का अधिकारी बताउँछन्। साथै, निर्माण कम्पनीले तयार गरेको डिजाइन विभाग वा महाशाखाले परीक्षण गरेपछि मात्रै निर्माण सुरु हुन्छ।

दुई लेनमा निर्माण भएको पूर्व–पश्चिम राजमार्ग सरकारले ‘एसियन हाइवे’ का रूपमा विकास गर्न चार लेनमा विस्तार गर्दैछ। तर, त्यही राजमार्गमा बन्ने सिग्नेचर ब्रिज भने दुई लेनको बनाउने तयारीमा पुल महाशाखा देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>