Breaking News

सामाजिक सञ्जालको दुरूपयोग भयो,आयोगको ध्यानाकर्षण होस्ः रास्वपा

Banner

चितवन,बैशाख १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ।

‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान पार्टीको फेसबुक पेजमार्फत भनेको छ, ‘यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौं।’

सामाजिक सञ्जाल दुरूपयोग गरी भइरहेका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी र कानूनबमोजिम कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ। ‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं। यस्तो गलत अभ्यासले आजका नेपाली भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ रास्वपाले भनेको छ।

रास्वपा सांसद सुमना श्रेष्ठले पनि एक भिडिओ सन्देश जारी गर्दै रास्वपा उम्मेदवारहरूका बारेमा भ्रामक समाचारहरू आइरहेको उल्लेख गरेकी छन्। ‘रास्वपाले चुनावअघि कसैसँग गठबन्धन गर्दैगर्दैन। गठबन्धन गर्‍योजस्ता कुराहरू आइरहेका रहेछन्। यो राजनीतिक भ्रष्टाचार हो भन्ने हामी मान्छौं,’ उनले भनेकी छन्, ‘भ्रामक समाचारमा नपर्नुहोला।’ आज चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>