Breaking News

गणतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिलाई चितवनमा खेल्न दिनुहुँदैनः प्रधानमन्त्री दाहाल

Banner

चितवन, वैशाख ७–

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई लोकतान्त्रिक गणतन्को विरोधमा खेल्ने ठाउँ बनाउन लागिएको भन्दै चितवनबासीलाई सचेत रहन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनले आज (बिहीबार) चितवनको कालिका नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चितवन जिल्ला लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक ठाउँ रहेको भन्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न चाहने प्रवृत्तिको खेल्ने ठाउँ हुन नदिन आग्रह गरे । प्रधानमन्त्री दाहालले भने–‘कुनै पनि हालतमा संविधान र संघीय लोेकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न चाहने प्रवृत्तिलाई खेल्ने ठाउँ दिनुहुन्न, सबैलाई भन्न चाहन्छु आफूले गरेको संघर्ष, त्याग र तपस्यालाई नबिर्सौ ।’ उनले थपे–‘मूल्य मान्यता बिर्सेर अनावश्यक तिक्तता र विवाद खुट्टा तानातान गर्दा नै चितवन जिल्ला कहिले काहीँ क्षति व्यहोर्नु परेको छ, अब फेरि चितवन जिल्ला जुर्मुराएकोमा खुशी लागेको छ ।’

प्रधानमन्त्री दाहालले पाँचवर्ष नै गठबन्धनले सरकार चलाउने दावी गरे । उनले सरकारले विस्तारै गति लिन थालेको भन्दै सकरात्मक संकेतहरु समेत देखा परेको बताए । उनले भने–‘अर्थतन्त्रको संकट समाधान गर्न केही गम्भिर प्रयासहरु अगाडि बढेका छन्, केही राम्रो संकेत पनि देखिएका छन्, रेमिट्यान्सको पनि बढेको छ, विदेशी मुद्रा संचिति पनि ११ महिना पुग्ने अवस्थामा पुगेको छ, राजश्व संकलन पनि सुधार भइरहेको छ ।’

जितनारायणलाई मन्त्री बनाउँछुः

प्रधानमन्त्री दाहालले चितवन क्षेत्र नं.२ बाट जितनारायण श्रेष्ठलाई जिताएर पठाए बलियो मन्त्री बनाउने आश्वासन दिए । ‘शेरबहादुर जीले मन्त्रीमा सिफारिस गर्छु भन्नुभयो, उहाँले सिफारिस गरेपछि मैले मन्त्री बनाउछु, तपाईहरुको जिम्मेवारी जिताउने भयो हाम्रो जिम्मेवारी अधिकार सम्पन्न एउटा मन्त्री बनाएर विकास निर्माण र समृद्धिको यात्रामा सघाउने हो ।’

माओवादी अध्यक्ष समेत रहेका दाहालले उपनिर्वाचन घोषणा लगत्तै आफूले जितनारायणलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्न सुझाव दिएको बताए । ‘उपचुनाव हुनेदेखि नै त्यो क्षेत्रमा चुनाव जित्ने हो भने एउटा मात्रै उम्मेदवार जितनारायण हो अन्त हेरियो भने जितिदैन भनेर भन्दै आएको थियो, उहाँको क्षमता मैले देखेरै भनेको थिए ।’
‘मंसिरमा उदाएका दल खहरे खोला जस्तै हो’

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खहरे खोलाको संज्ञा दिए । उनले पाँच दलीय गठबन्धनलाई नारायणीको रुपमा प्रस्तुत गर्दै रास्वपालाई कटाक्ष गर्दै भने–‘कहिले काँही खहरे बडो उर्लेर आउँछ, केहीदिनमै सुक्छ पछि कमिला हिन्ने बन्छ, तर नारायणी नदी त्यस्तो हँुदैन, बगिराख्छ र महासगरमा जान्छ ।’ उनले थपे,‘नेपाली कांग्रेस र यो गठबन्धन दल भनेका निश्चित विचार सिद्धान्त मुल्य मान्यता, इतिहास बोकेका विशाल नदी जस्ता पार्टी हुन् भने खहरेसंग तर्सिनुपर्ने कुनै आवश्यकता छैन ।’

प्रधानमन्त्री दाहालले शक्तिखोर औद्योगिक क्षेत्रलाई सम्पन्न गर्ने गरि अगाडि बढाउने पुनः प्रतिवद्धता जनाए । त्यसका लागि जितनारायण जितेर गएपछि उनको भूमिका पनि बढाउने भन्दै मतदाता फकाउन प्रयास गरे । उनले अघिल्लो बजेटमा घोषणा गरिएको काठमाडौँबाट चितवन एकदेखि डेढ घण्टा भित्र पुग्ने बाटोको सर्भे भइरहेको समेत जानकारी दिए ।

‘शेरबहादुर र म गहिलो लभमा छौं’

प्रधानमन्त्री दाहालले आफ्नो पछिल्लो चार महिनाको प्रधानमन्त्रीको समय सामान्य नरहेको बताए । उनले भने–‘जहाँबाट म प्रधानमन्त्री बने त्यसदिनबाट एकदिन पनि राम्रोसंग निद लागेन मलाई, कहाँ आइयो र प्रधानमन्त्री भइयो त्यो प्रधानमन्त्री घाँडो भएजस्तो लाग्या थियो मलाई । उनले थपे–‘शेरबहादुर जी पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन नपाएकोमा राती सुत्न सक्नु भएन हामी दुवै जना बेचैन भयौं, हाम्रो लभ निकै गहिरो थियौं, अहिले फेरि एक ठाउँमा छौं, खुशी छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>