Breaking News
देशको दलतन्त्र र सेटिङलाई चकनाचुर पार्नुपर्छ: डा स्वर्णिम वाग्ले

चितवन, वैशाख ७
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपनिर्वाचनमा तनहुँका उम्मेदवार डा स्वर्णिम वाग्लेले देशको लोकतन्त्र दलतन्त्र हुँदै कुलतन्त्रमा कब्जा भएकोले यसलाई चकनाचुर पार्नुपर्ने बताएका छन् ।
भरतपुरको गेष्टहाउस चौरमा भएको आमसभालाई सम्बोधन गर्दै डा वाग्लेले राजनीति नसङ्ल्याइकन अर्थतन्त्र उकास्न नसकिने भएकोले दलतन्त्रलाई चकनाचुर पार्नुपर्ने बताएका हुन् । उनले भने, ‘ पुराना राजनीतिक दलहरु सेटिङ र संवैधानिक आयोगमा कब्जामा लागिरहेका छन् । राजनीति सेवा होइन पूर्णकालिन पेसा बनाएका छन् । यस्तै विकृति र विसंगतिको विरुद्ध हामीले शान्तिपूर्ण विद्रोहमा उत्रिएका छौं ।’ उनले तनहुँमा निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै हेलिकप्टर चार्टर गरेर पूर्वप्रधानमन्त्री र नेताहरुको लस्कर लागेको बताए । उनले भने, ‘ तनहुँमा बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको लस्कर लागिरहेको छ । प्रधानमन्त्रीले मन्त्री पद बाँडिरहेका छन् । मेरा प्रतिद्वन्द्वीलाई जिताए मन्त्री बनाउँछु भनेर आचारसंहिताको धज्जी उडाइरहेका छन् । ’ उनले चुनावी अंकगणित जे भए पनि आफूहरुले राजनीतिकरुपमा विजय हासिल गरिसकेको दाबी गरे ।
























