क्रिकेट

भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि काठमाडौँलाई

Banner

चितवन, वैशाख ७-

भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जितेको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको आजको फाइनल खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले हराउदै पाहँुना टोली काठमाडौंले उपाधि उचालेको हो ।

१२२ रनको विजय लक्ष्य पछ्याएको पाहँुना टोली काठमाडौंले २४ औं ओभरको तेश्रो बलमा ६ विकेट गुमाएर जित निकाल्यो । दुवै ओपनर सस्तैमा गुमाएको काठमाडौंको लागि मध्यक्रममा बुद्धिमान विष्ट र विरेन्द्रसिंह साउदले पारी सम्हालेका थिए ।

साउदले ३३ रन बनाए भने विष्टले ३२ रन बनाए । यस्तै काठमाडौंको जितमा निश्चल श्रेष्ठले नटआउट २० रनको योगदान गरे । बलिङमा चितवनका दिपेश क्षेत्री, सुगम सापकोटा, विशाल खत्री, अंकित झा र शिव भट्टराइले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । चितवनका लागि ओपनर अंकित झाले सर्वाधिक ४१ रन बनाए । ४६ बल खेलेका उनले ६ चौका  प्रहार गरे । उनी पवन कठायतको बलिङमा बोल्ड हुदै पेभेलियन फर्किए । यस्तै कप्तान सुर्यान्शु कोइरालाले १५ रन जोडे । २६ बल खेल्दै रन बनाउन संघर्ष गरिरहेका उनी निश्चल श्रेष्ठको बोल्ड भए ।

त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन एक अंकमा नै सिमित भयो । बलिङमा काठमाडौंका सुबिन हाडा र पवन कठायतले समान दुई विकेट लिए । सार्थक धिताल र प्रतिक पण्डितले समान एक विकेट निकाले । फाइनल खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए । त्यस्तै विधातर्फ बेष्ट ब्याट्सम्यान र बेष्टको बलरको पुरस्कार चितवनले पायो । चितवनका कप्तान सूर्यान्शु कोइराला बेष्ट ब्याट्सम्यान बन्दा विशाल खत्री बेष्ट बलर घोषित भए । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट काठमाडौंका निश्चल श्रेष्ठ चुनिए ।

प्रतियोगिताको विजेता टोलीलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले संयुक्तरुपमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको आयोजनामा वैशाख ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>