Breaking News

चितवनमा औधोगिक प्रदर्शनी हुँदै, सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउने विश्वास

Banner

चितवन, वैशाख ४–

चितवनमा वैशाख २२ गतेदेखि २४ गतेसम्म सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा उक्त प्रदर्शनी हुने भएको हो ।

नयाँ प्रविधिबारे जानकारी दिने तथा युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, औषधि उद्योग, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन रहने छन् ।

यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र, उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० बढी स्टल रहने उनको भनाइ छ ।

लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा स्टल निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीमा उत्कृष्ट हुने साना उद्यमीलाई पुरस्कार तथा सम्मान गरिनेछ । प्रदर्शनी उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी दिने र युवालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नयाँ माध्यम हुने आयोजकले बताएको छ ।

प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्णरूपमा चलायमान हुन गई आर्थिक कारोबार समेत बढ्ने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । आयोजकका अनुसार प्रदर्शनीमा अवलोकनका लागि कुनै शुल्क लाग्दैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>