चितवन विशेष
जीतनारायणले मतदातालाई भनेः मैले एक रुपैयाँ खाएछु भने आमाको रगत खानु सरह हुनेछ

चितवन, वैशाख २-
उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जीतनारायण श्रेष्ठले आफू निर्वाचित भए मतदाताको शिर झुक्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेसका निवर्तमान जिल्ला सभापतिसमेत रहेका श्रेष्ठले आज (शनिबार) भरतपुरका विभिन्न वडामा घरदैलोको क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले आफू निर्वाचित भए गलत मान्छेलाई भोट हालिएछ भन्ने अवस्था आउन नदिने बताए । ‘जीतनारायण श्रेष्ठलाई तपाइँहरुले मत हाल्दै गर्दा भोलिका दिनमा कहीँ कतै गलत मान्छेलाई भोट हालिएछ भनेर शिर झुक्न दिने छैन’, उनले भने ।
हिजोका दिनमा सडकमा नारा लगाएको स्मरण गर्दै श्रेष्ठले अब सदनमा बेतिथिविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाए । ‘हिजो सडकमा नारा लगाउने केटो भोलि संसदमा हुने बेतिथिको विरुद्धमा बोल्न सक्ने हिम्मत राखेर आएको छुु’, उनले भने ।
आफू सधैं जनताको साथमा रहेर अघि बढेको बताउँदै उनले आगामी दिनमा पनि जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाए । २०७२ सालमा चेपाङ गाउँमा भूकम्पले भत्किएका घर बनाउन गरेको काम र शक्तिखोरमा अस्पताल बनाउन परिवारबाट गरिएको १० कट्ठा जग्गा दान स्मरण गर्दै आफूले प्रचारबाजी भन्दा काममा सधैं जोड दिएको उनको भनाइ थियो ।
जनताले मत दिएर विजयी एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने उनको प्रतिबद्धता छ । ‘मलाई मत दिनुहोस् । मेरो पनि ७२ वर्षको आमा हुनुहुन्छ । मैले एक रुपैयाँ पैसा खाएछु भने आमाको रगत खानु सरह हुनेछ’, उनले भने । सांसद भनेको जीतनारायण श्रेष्ठ जस्तो हुनुपर्छ भन्ने गर्व गर्न लायक काम गरेर देखाउने उनको भनाइ थियो ।
























