Breaking News
उपनिर्वाचनबाट अपरिपक्व नेता आउनु हुँदैन: मतदाता

प्रतिमा कुमाल
चितवन, चैत ३०-
चितवनमा अहिले उपनिर्वाचनको सहगर्मी बढेको छ । वैशाख १० गतेको जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु दौडधुप गरिरहेका छन् । क्षेत्र नम्बर २ मा चुनाव हुन लागे पनि यसले सम्पूर्ण चितवनको माहोललाई तताएको छ ।
तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । तर, चितवन क्षेत्र नम्बर २ को निर्वाचन हरेकको चासोको विषय बनेको छ । गत मंसिरमा चितवन क्षेत्र नम्बर २ बाट अत्यधिक मतले विजय भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको पद नागरिकता प्रकरणबाट रिक्त भएपछि पुनः निर्वाचन हुन लागेको हो ।
चुनावको माहोलमा उम्मेदवारहरु एकले अर्काको विरोध गर्न पछि हटेका छैनन् । विशेष गरेर रास्वपाका उम्मेदवार लामिछाने यसको मुखमा परेका छन् । सांसद ढाका कुमार श्रेष्ठको अडियो संवाद, रविको नागरिकता तथा राहदानीको विषयलाई विपक्षी दलका उम्मेदवारहरुले औजार बनाएका छन् ।
यद्यपि मतदाताहरुको धारणा भने फरक छ । भरतपुर–११ बसेनीका लक्ष्मीप्रसाद धितालले मत फेरेर पार्टीलाई सुधार्न खोजेको बताउनुभयो । नेपाली कांग्रेसमा आस्था राख्ने धितालले पुरानो पार्टी सुध्रिएर आए आफ्नै घरमा फर्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भन्ने उखान यी पुराना नेताहरुले चरित्र चित्रण गरेका छन् । गठबन्धन आफ्नो स्वार्थ पूर्ती गर्नको लागि मात्र लागि परेको छ । म पुराना नेपाली कांग्रसकै हो । हामी स्वतन्त्रमा गएका छैनौँ । उनीहरु सुध्रिएपछि आफ्नै घरमा जाउँला ।’
भरतपुर–९ मिलन चोकका भरतराज खनालले नेता भनेको जनताको दुःख सुखमा साथ दिने, जनताको पिरमर्का बुझ्ने, जनताको कुराहरु संसद्मा लिएर जाने हुनुपर्ने बताउनुभयो । ‘जनताको यो चाहाना पुराना पार्टीहरुबाट पूरा भएको देखिएन । अहिले यहाँका सबै ठूला पार्टीहरु रविसँग डराएका छन् । यिनीहरुले गर्न पनि केही नगर्ने, गर्न खोज्नेलाई पनि गर्न नदिने गरेका जनताले बुझिसकेका छन् ।’
नेताहरुको कुर्ची मोहले गर्दा जनता मत फेर्न बाध्य भएको नरहरि पोखरेलको भनाइ छ । भरतपुर १० हिमाली टोलका उहाँले भन्नुभयो, ‘तलकोलाई केही दोष छैन । केन्द्रीय नेताहरुले जबसम्म संसार छोड्दैनन् तबसम्म कुर्ची नछोड्ने प्रवृत्ति छ । युवाहरुलाई अगाडि बढ्नै नदिने अवस्था छ । त्यसले गर्दा जनताले विकल्प खोजेको हो ।’ उपनिर्वाचनमा जनताले हाम्रो भन्दा पनि राम्रो व्यक्तिलाई चुन्न पर्छ भन्ने बुझिसकेको उहाँले बताउनुभयो ।
भरतपुर–११ विशाल चोकका कृष्ण भट्टले नेपाली नागरिकलाई टुरिष्ट शब्द प्रयोग गर्नु असान्दर्भिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसो भए प्रचण्ड गोर्खामा गएर चुनाव जित्दा टुरिष्ट भएनन् त ? देशको जुनसुकै जिल्लामा गएर चुनाव लडेपनि नेपाली नागरिकता प्राप्त नागरिकलाई टुरिष्ट भन्न मिल्दैन ।’
भरपतुर–१० पूर्णिमा चोकका दीपेन्द्रराज सुवेदीले निर्वाचनबाट युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जस्तो अपरिपक्क नेता आउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरु परिवर्तनको लागि दुःख गर्नुभयो, जेल पर्नुभयो । सत्ता चलाउन पुगेपछि जनतालाई विभिन्न लोभ लालच देखाएर जानुभयो । तर, देशको विकास हुन सकेन, देशमा भ्रष्टाचार मौलायो ।’ नेताहरुले जस्तो भाषण गरेपनि कार्यकर्ताले मेरै नेताले बोलेको ठीक हो भन्ने प्रवृत्ति छोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


























