नवलपरासी

नवलपरासीका उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

Banner

नवलपरासी, चैत ३०-

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । उद्योगले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरेको पाइएकोले सूचना जारी गरिएकोे प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयो ।

प्रत्येक नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई प्रभावकारी बनाउन उक्त गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ जारी गरेको र सोही कार्यविधिमा उद्योग तथा आयोजनाले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहेको उहाँको भनाइ थियोे ।

जिल्लामा उद्योग तथा कल कारखानाबाट उत्सर्जन भएको हानिकारक धुँवा र फोहर पानीले वरपरका बस्तीमा उच्च जोखिम बनाएको छ । नेपाल सरकारले स्थानीय तहलाई अनुगमनकारी निकायको रूपमा अधिकार दिएकामा स्थानीय तहले कडाइका साथ यसलाई नियमन गर्न नसक्दा उद्योगको मनपरी बढ्दै गएको हो ।

औद्योगिक फोहर, पानी र धुँवाले पश्चिम नवलपरासीका अधिकांश बस्ती औद्योगिक क्षेत्रजस्तो देखिन थालेकाले उक्त गाउँपालिकाले यस क्षेत्रमै पहिलो पटक उद्योगलाई स्वअनुगमन प्रतिवेदन पेस गर्न ताकेता गरेको हो । स्वअनुगमन प्रतिवेदनमा उद्योगले उत्सर्जन गर्ने हानिकारक धुँवा, फोहर पानी, कामदारले पिउने पानीको गुणस्तरका साथै ध्वनीको तह तथा आइइई प्रतिवेदनमा उल्लेख भएका कुरा पालना भए नभएको कुरा समावेश हुन्छ । प्रस्तावकले पेस गरेको प्रतिवेदनउपर शङ्का लागे गाउँपालिका स्वयंले अनुगमन गर्न सक्ने कानुनी प्रावधान छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>