विचार/ब्लग

भरतपुरको बजारी क्षेत्रमा सडक निर्माण नसकिँदासम्म घर भाडामा छुट दिन अपिल

Banner

ख्यामनारायण पराजुली

भरतपुरका मुख्य बजार तथा भित्री क्षेत्रका व्यावसायिक स्थलमा आर्थिक गतिविधि अझै शून्यप्रायः देखिन्छ । घर तथा सटर भाडामा लिई व्यवसाय गर्ने अधिकांश व्यवसायीहरूले घरभाडा तिर्न सक्ने अवस्था छैन । केहीले ऋण खोजेर भाडा बुझाए पनि त्यसरी कति समय भाडा तिर्न सक्ने भन्ने कुराले मानसिक पीडासहित अन्योलता छाएको छ ।

सन् २०१९ को अन्त्यदेखि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारी, दुई शक्ति राष्ट्रहरू रुस र युक्रेनबीचको युद्ध र तत्पश्चात् विश्व अर्थतन्त्रमा पर्न गएको आर्थिक मन्दीका कारण सम्पूर्ण उद्योग, व्यवसाय तथा कलकारखाना धरासायी अवस्थामा रहेका छन् । यसबाट अरु थप संकट पैदा हुने निश्चित छ । केही उद्योग, व्यवसाय र कलकारखाना चल्नै नसक्ने गरी बन्द भइसकेका छन् । केही खुल्ला रहे पनि आर्थिक गतिविधि चलायमान हुन नसक्दा उनीहरू अत्यन्तै जटिल अवस्थाबाट गुज्रिरहेका छन् ।

आर्थिक मन्दीका कारण व्यवसाय सुस्ताउँदा व्यवसायीहरूले घरभाडा, बैंकको व्याज र कर्मचारीको तलब बुझाउन सकिरहेका छैनन् । आफ्नो परिवार पाल्न कठिन भई व्यवसायीहरू पलायन नै हुनुपर्ने स्थिति समेत देखा पर्न थालेको छ । यस विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाद्वारा कर्जामा गरिएको व्याज वृद्धिका कारण व्यवसायीहरूलाई थप पीडा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको केबल नाफा कमाउने संकुचित सोचका कारण कर्जामा व्याज वृद्धि गरिनु न्यायोचित मान्न सकिँदैन । यस्तो अवस्थामा कर्जा वापत लिएको रकमको व्याज तथा किस्ता तिर्नका लागि बैँक तथा वित्तीय संस्थाले मानसिक र भौतिक दबाब दिइरहेका छन् । नियमित व्याज तथा किस्ता रकम नबुझाएको खण्डमा सूचना सार्वजनिक गर्ने, धितो लिलामी र कालो सूचीमा पार्ने भन्दै तिनले व्यवसायीलाई थप आतंकित बनाएका छन् । जसका कारण व्यवसायीहरू मानसिक रूपमा विक्षिप्त भई आत्महत्या गर्ने जस्तो निर्मम निर्णय लिन बाध्य भएका छन् । यसलाई सम्बन्धित निकायले गम्भीर रूपमा लिन जरुरी छ ।

व्यवसायीलाई थप दबाब र पीडा दिँदै जाने हो भने यस्ता कैयौं घटनाहरू नदोहोरिएलान् भन्न सकिँदैन । तसर्थ यसको सहजीकरणसहित व्यवसायी र व्यवसायलाई जोगाई निरन्तर रूपमा टिकाउन जरुरी छ । त्यसका लागि बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैँक र अर्थ मन्त्रालय समक्ष बैंक कर्जाको व्याजदर एक अंकमा सीमित राख्न, कर्जाको भाखा तथा समय अवधि थप गर्न र व्यवसायको प्रकृति हेरेर आवश्यकता अनुसारको पुनर्कर्जाको व्यवस्था गर्न अनुरोध गर्दछौं । यदि यही अवस्था रहिरहने र वैकल्पिक सहजीकरणका उपायहरू अवलम्बन नगरी व्यवसायीहरूमाथि थप पीडा र दबाव पैदा हुने अवस्था आएको खण्डमा तमाम उद्योगी व्यवसायीहरू आफ्नो व्यवसाय छोडेर संघर्ष र आन्दोलनमा उत्रन बाध्य हुनेछन् । यो अवस्थालाई सामान्य मान्न हुँदैन ।

केही वर्ष पहिले व्यवसायीबाट समस्या समाधान गर्न धेरै निवेदन आउने मञ्चको कार्यालयमा हाल भाडा नपाएको गुनासोसहित सहजीकरणको लागि घरधनीहरूबाट निवेदन पर्ने क्रम बढेको छ । यसलाई केही समय पर्खन र विस्तारै तिर्ने सहमतिको वातावरण मञ्चबाट हुँदै आएको छ । तर, यस्तो अवस्थामा केही समयपश्चात् पनि भाडा बुझाउन सक्ने गरी सामान्य अवस्था आउन गाह्रो छ । न व्यवसायबाट घरभाडा तिर्न सक्ने अवस्था छ, न आफ्नो पुस्ता तथा जीवनभरको लगानी र संघर्षबाट स्थापित व्यवसायलाई छाडेर हिँड्न सक्ने अवस्था छ । तसर्थ यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै हाल रहेको भाडा दरलाई घटाई व्यवसायलाई टिक्ने वातावरणमा सहयोग गर्न पनि अनुरोध गर्दछौं । यस अवस्थामा राज्यले व्यवसायीबाट लिने व्यवसाय कर र घरधनीहरूबाट लिने घरबहाल करमा विशेष छुटको व्यवस्था गर्न आग्रह गर्दछौं ।

उपभोक्ता र घरधनीहरूबीच प्रचलित ऐन तथा कानुनको अधीनमा रही निश्चित अवधिमा निश्चित प्रतिशत भाडा वृद्धि गरी लिनेदिने सम्झौता गरिएको हुन्छ । तर, यस प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै भाडा वृद्धि दर एवम् अवधिलाई थाँती राख्दै व्यवसायको निरन्तरता तथा सामान्य अवस्था हुँदै गरेको खण्डमा पुनः वृद्धिदरलाई पुनर्विचारसहित समायोजन गर्ने गरी भाडादर घटाएर उपभोक्तामाथि मानवीय र भावनात्मक सहयोग गरिदिनुहुन पनि घरधनीहरू समक्ष अनुरोध गर्दछौं ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ पुलचोकदेखि भरतपुर गोन्द्राङसम्म सडक विस्तारका क्रममा यथोचित समन्वय, सहजीकरण र स्पष्ट सूचना बिना व्यावसायिक भवनहरूमाथि डोजर प्रयोग गर्दा पर्न गएको भौतिक तथा व्यावसायिक क्षतिप्रति नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको गम्भीर ध्यानाकर्षण भएको र यस विषयमा मञ्चका स्पष्ट धारणालाई सार्वजनिक विज्ञप्तिमार्फत व्यक्त गरिएको छ । विकास निर्माण कार्यलाई सकारात्मक रूपमा अनुभूति गराउँदै त्यसबाट पर्न सक्ने असरका बारेमा सरोकारवाला निकायहरूबीच समन्वय हुन नसक्दा कैयौं व्यवसायीहरूका व्यवसायिक सामग्रीमा क्षति पुगेको छ । त्यसपछि (पुस महिनाको सुरुवातबाटै) बन्द रहेका व्यावसायिक स्थल हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । यसले व्यवसायीहरूलाई थप पीडा दिएको छ । यसबाट व्यावसायिक भवन तथा व्यावसायिक स्थलमा पर्न गएको क्षतिका कारण पीडामा रहेका व्यवसायी एवम् घरधनीहरूप्रति सहनुभूति प्रकट गर्दै आपसी सहयोग र सद्भाव कायम गर्न जरुरी छ ।

क्षति पुगेका व्यावसायिक भवनहरूलाई छिटोभन्दा छिटो मर्मत तथा निर्माण सम्पन्न गरी व्यवसाय गर्ने अवस्थामा प्रदान गर्न सम्पूर्ण घरधनी तथा संघसंस्थाहरूलाई अपिल गर्दछौं । साथै यस निर्माण कार्यले व्यवसायमा गम्भीर असर पारेकोले पूर्ण रूपमा सञ्चालन नरहँदासम्म र निर्माण कार्यले पूर्णता नपाउन्जेल वहालवाला व्यवसायीलाई भाडामा छुट तथा सहुलियतको व्यवस्था गर्न समेत मञ्चकोतर्फबाट अपिल गर्दछौं । राजमार्ग विस्तारको कार्यलाई व्यवस्थित रूपमा यथाशीघ्र सम्पन्न गरी व्यवसायी र उपभोक्तामाथि पर्न गएको असरलाई न्यूनीकरण गर्न सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछौं ।

(लेखक नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>