समाज

शान्ति सुरक्षालाई चुनौती दिँदै चक्रे मिलनलाई ‘एके–४७’ को सुरक्षा

Banner

काठमाडौं, चैत २८–

‘चक्रे’ भनिने चर्चित ‘डन’ मिलन गुरुङ (चक्रे मिलन) शान्तिसुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार‘एके–४७’को सुरक्षा घेरामा देखिएका छन्। दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन्। उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए। बेलाबखत नेपाल प्रहरीको निगरानीमा रहने गरेका चक्रे मिलनले ‘एके–४७’ को सुरक्षा घेरामा रहेर शान्तिसुरक्षालाई चुनौती दिएका हुन्।

नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेको भनिएका चक्रे मिलन सोमबार महाधिवेशन स्थलमा नदेखिएको संघका एक नेताले जानकारी दिए। उनी युवा संघको महाधिवेशनमा प्रतिनिधि पनि नभएको जनाइएको छ। नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त भएपछि चक्रे मिलन यसरी खुला रूपमा हतियारसहितको सुरक्षामा देखिएका हुन्। काठमाडौंको चक्रपथ र ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने, त्यहाँ सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट र म्यानपावर कम्पनीलाई आफ्नो हातमा लिएर हप्ता उठाउँदै आएका चक्रे मिलन आफ्नो सुरक्षामा खटिएका युवकसँग होटलबाट निस्कँदै गरेको भिडियो सोमबार दिउँसो बाहिरिएको थियो।

सो भिडियोमा आधुनिक हतियार एके–४७ बोकेका युवकले उनलाई सुरक्षा दिएको देखिएको छ। उनको पछिपछि हिँडेका ती युवकका हातमा भएको सो हतियार पनि भिडियोमा प्रस्ट देखिएको छ। उक्त हतियार एके–४७ नै भएको सुरक्षाकर्मीहरूको निष्कर्ष छ। ज्ञानेन्द्र वली ५७ नाम राखेर टिकटकबाट भिडियो सार्वजनिक गरिएको थियो। पछि भिडियो हटाइएको छ। उनी नेपालगन्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणामा नेपालगन्ज पुगेको र युवासंघको कार्यक्रममा भाग लिने बताइएको छ। उनको सुरक्षामा खटिने युवक गणेश बोगटी भएको स्रोतको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>