Breaking News

चितवनमा डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

Banner

निरुता विक

चितवन, चैत २५-

चितवनमा गर्मी बढेसँगै वन क्षेत्रमा हुन सक्ने डढेलो नियन्त्रणका लागि वन डिभिजन कार्यालयले उच्च सतर्कता अपनाएको छ ।

वन डिभिजन कार्यालयका सूचना अधिकृत बालकृष्ण खनालकाअनुसार चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्ने हुँदा उच्च सतर्कता अपनाएको हो ।

वन क्षेत्रमा धेरै डढेलो लाग्ने हुँदा वन तथा वन्यजन्तु, तिनका बासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । सूचना अधिकृत खनालका अनुसार वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण स्रोतसाधनको व्यवस्थापन, ८०० लिटरको पानी ट्याङ्की, दमकल र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनुका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ ।

सूचना अधिकृत खनालले डिभिजन वन अन्तरगतका आठ ओटै सब डिभिजन मातहतमा स्थानीय उपभोक्ताहरुको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको जानकारी दिए । स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि तयारी अवस्थामा रहन समेत कार्यालयले आह्वान गरेको छ । गर्मीको समयमा जिल्लामा रहेका सामुदायिक वन क्षेत्रमा अत्यधिक डढेलो लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न कार्यालयले सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल अन्तरक्रिया गरिरहेको सूचना अधिकारी खनालले बताए । उनले भने, ‘डढेलो लाग्नै नदिन र लागेमा नियन्त्रणका लागि समुदायस्तरमै गरिने कामलाई हामीले तीव्र पारेका छौँ ।’ गत वर्षभन्दा यस वर्षको चालु महिनासम्म डढेलोको कुनै अप्रिय घटना सुन्नु नपरेको उनको भनाइ छ ।
उनका अनुसार विदेशमा प्राकृतिक कारणले डढेलो लाग्ने गर्छ भने नेपालमा मुख्यतया मानवीय कारणले नै बढी डढेलो लाग्ने गरेको छ । स्थानीयले झाडी भयो भनेर वनक्षेत्रमा आगो लगाइ दिने, वन क्षेत्रमा पिकनिक खान जाने र सोही अवस्थामा मानिसले लापारवाही गर्नाले र चेतनाको कमी भएर आगलागीका घटना हुने गरेका छन् ।

सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखिम बढी हुने गर्दछ । डिभिजन वनकार्यालयअन्तर्गत जिल्लामा ९३ सामुदायिक वन, पाँच धार्मिक वन, ४३१ कबुलियती वन र १७१ निजी वन छन् । तीवनमध्ये डढेलोको मुख्यजोखिममा बरण्डाभार क्षेत्रमा रहेका १७ सामुदायिक वन रहेको खनालले जानकारी दिए । जसमा महानगरपालिकाको वडा नं १, २, ११, १२,२९,ंरत्ननगरको ११, कालिका १ देखि ८, इच्छाकामना ७, खैरहनी र राप्तिलगायत ठाँउमा बढी डढेलोको जोखम बढी हुने सूचना अधिकृत खनालले बताए ।

तर, भरतपुर महानगरका विभिन्न सामुदायिक वनमा स्वयं वनका उपभोक्ताहरुले नै घाँस पलाउँछ भनेर वनमा आगो लगाउने गरेका छन् । भरतपुर–११ को नव जागृति सामुदायिक वन क्षेत्रमा दैनिकजसो डडेलो लाग्दा पनि सामुदायिक वनको कार्यसमितिले बेवास्ता गर्ने गरेकोे स्थानीयको आरोप छ । भरतपुर–११ लामाटोलका कृष्ण लामाले वन क्षेत्रमा दिनहुँजसो आगलागी हुने गरेको बताए । उनले भने, ‘ नवजागृति सामुदायिक वनको कार्यसमिति पूरा राजनीतिक भागबन्डा गर्दै बजेट सक्न अध्ययन अवलोकन भ्रमणका नाममा घुमफिरमा व्यस्त छ । आगलागी नियन्त्रण र चोरीशिकारी नियन्त्रणमा ध्यान दिन सकेको छैन । वनले वार्षिक गर्ने आम्दानीमा कुनै पारदर्शिता छैन । आम्दानी आयआर्जन र जनचेतनामूलक कार्यक्रममा खर्च गर्ने भन्दा पनि भ्रमण र भोजभतेरमा नै सकिने गरेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>