चितवन विशेष

तोरी नपाउँदा गैँडाकोटकोे शिव शक्ति तेल उद्योग संकटमा

Banner

पुजा ढकाल

चितवन, चैत २४–

पछिल्लो समय गैँडाकोटको शिवशक्ति तेल उद्योग निरन्तर संकटमा परेको छ ।

देशमा प्रर्याप्त मात्रामा तोरी तथा कच्चा पदार्थ नपाएर भारतबाट महंगोमा तोरी ल्याउँनुपर्ने बाध्यताले तेल उद्योग निरन्तर घाटामा गएको हो ।
गैँडाकोट–८ मा रहेको शिव शक्ति तेल उद्योग तथा रिफाइन प्रालि नेपालकै लोकप्रिय तेल उद्योगमा पर्छ । तीन जनाको तीन करोडको लागतमा विसं २०६७ सालमा सञ्चालन भएको शिव शक्ति तेल उद्योग सुरुवातको चरणमा राम्रो चले पनि कोरोना पछि यस उद्योग उकासिन नसकेको उद्योग सञ्चालक मदन सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार सुरुदेखि कोरोना समयसम्म उद्योगले ४० जना कर्मचारीलाई देशमै रोजगारको अवसर प्रदान गरेर दैनिक ४ टन तोरी पेल्दै आएको थियो ।

तर, पछिल्लो समय भने तेल उत्पादन निकै घटेको उनी बताउँछन् । उनी भन्छन्, पहिले त्यति धेरै तेल उत्पादन गर्दै आएको हाम्रो उद्योगले कोरोना पछि भने गति लिन नसकी निरन्तर संकटमा पर्दे गएको छ । तोरी नपाउँदा पहिलेको जस्तो तेल उत्पादन पनि गरेको छैन । जसको कारण आजभोलि हामीले दैनिक जम्मा एक टन तोरी पेल्छौँ र यसको जम्मा ४०० लिटर तेल मात्रै उत्पादन हुन्छ । ’ उनले दिएको जानकारी अनुसार उक्त उद्योगले पहिले ४० जनालाई रोजगार प्रदान गरे पनि पछिल्लो समय उत्पादन घट्दा र महंगी बढ्दै जाँदा जम्मा ५÷६ जनालाई रोजगार दिएको छ ।

उद्योगमा आफूहरुले दैनिक उत्पादन गर्नेे तेल पहिले १८०–१९० रुपैयाँमा देशैभर पुगे पनि पछिल्लो समय चितवन र नवलपुर जिल्लामा मात्रै तेल पसललाई सिमित रहेको उनले बताए । उनको अनुसार अहिले बजारमा तोरीको तेलको मूल्य २८०–३०० निर्धारण गरिएको छ । त्यस्तै, सरकार तथा कृषि ज्ञान केन्द्रले चितवनसँगै जिल्ला आसपासका क्षेत्रमा तोरी उत्पादन वार्षिक बढ्दै गएको भने पनि आफूलाई उक्त तथ्यांक प्रति शंका लागेको र गलत भन्ने कुनै आधार नभएको बताउँदै उनी भन्छन्, ‘तोरी उत्पादन बढ्दै गएको छ भने हामी उद्योग चलाउनेले तोरी आफ्नै देशमा किन पाएको छैन ? भारतबाट महंगो भन्सार तिरेर किन तोरी ल्याउनु परेको छ ?’ उनले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार उनीहरुले सुरुवाती चरणमा तीन हजार ५०० रुपैयाँमा एक क्विन्टल तोरी किन्ने गरे पनि पछि ६ देखि ७ हजार हुँदै आजभोलि १२ देखि १३ हजार पर्न गरेको छ । यस्तै भारतबाट तोरी ल्याउँदा भने भन्सार असुल ५ प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नु पर्ने बाध्यता छ ।

तर, पछिल्लो समय बैँक तथा वित्तीय संस्थाले बढाएको चर्काे ब्याजदर, आर्थिक मन्दी, दैनिक हुने खर्च बढ्दा र आम्दानी घट्दा आर्थिक तनाव भोग्नु परेको उद्योगी सापकोटाको दुःखेसो छ । त्यस्तै तोरी उत्पादन बढाउन तथा तेल उद्योगलाई राम्रो स्थापना गर्न राज्यले तोरी उत्पादनमा जोड दिनुपर्ने, सरकारले दिने अनुदानमा पैसा नभएर उपकरण दिनुपर्ने, कृषि क्षेत्रको बजारीकरण गर्नुपर्ने, तोरीको बजार मूल्य निर्धारण गर्नुपर्ने, सरकारले कर असुल मात्रै नभएर उचित व्यवस्थापन पनि गर्नुपर्ने उनको धारणा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>