कृषि

माडीका ६०२ घरपरिवार माछापालन व्यवसायमा, दानाको अभाव भने कायमै

Banner

प्रतिमा कुमाल

चितवन, चैत २५–

चितवनको माडी नगरपालिकाका किसानको माछापालनमा आकर्षण बढेको छ ।
माछाको लागि उपयुक्त ठाउँ र अन्य कृषिजन्य उत्पादन भन्दा मत्स्यबाट राम्रो आम्दानी हुने भएकोले पनि किसान माछापालनमा आकर्षित भएका हुन् ।

माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७८\०७९ मा ६०२ घरपरिवार माछापालनमा संलग्न देखिन्छन् । यहाँका जनताले मत्स्यपालनलाई व्यवसायीकरण गरिरहेका छन् । तर, माछा उत्पादनका लागि आवश्यक वस्तुहरुको अभावका बीच वास्तविक आम्दानी हुन नसकेको मत्स्य किसानहरुको गुनासो छ ।

मत्स्य किसान सरोज साहले भने, ‘माछाको दाना एकदमै महंगो छ । एक केजी कै ८५ रुपैयाँ पर्छ । प्रत्यक महिना एक कठ्ठा बराबर ५०० ग्राम मल पोखरीमा अनिवार्य राख्नुपर्छ । तर, युरिया र डीएपी मलको अभावका कारण समयमा मल पोखरीमा राख्न सकेका छैनौं । जसले माछाको लागि आवश्यक लेउ तथा सुक्ष्म वनस्पती पोखरीमा उत्पादन हुँदैन । यसले गर्दा उत्पादन र आम्दानी हुनपर्ने भन्दा कम छ ।’
माडी नगरपालिका वडा नम्बर ६ कल्याणपुरमा साहले माछापालन गर्दै आएका छन् । ५ वर्षदेखि उनले माछापालन गर्न थालेका हुन् । १० बिघा जलासयमा साहको सरोज कृषि फार्म रहेको छ । अबको एक महिना भित्र यसलाई बढाएर १६ बिघा जलासयमा माछापालन गर्ने तयारीमा साह रहेका छन् । उनको जलासयमा छ प्रकारको माछा रहेको जानकारी दिए । उनले भने, ‘कार्प, कमन कार्प, ग्रास कार्प, विगेट कार्प, रोहुनेनी, सिल्बर गरी ६ जातको माछापालन छ ।’

मत्स्यमा माडी आत्मनिर्भर भएको खुसीयाली भए पनि किसानको समस्या समाधानमा पालिका अलमलमा परेको हिरामति गुरौंले बताए । थारु सामूहिक महिला कृषक समूह गठन गरी सामूहिक माछापालन गरिरहको गुरौले ध्यानाकर्षण गराएको समस्यामा पनि पालिकाले ध्यान नदिएको बताएका हुन् । ‘६० जना महिलाहरु मिलेर हामीले माछापालन गरिरहेका छौं । हाम्रो मात्र होइन यहाँका सबै माछापालकको समस्या एउटै हो । किनेर खुवाउछु भन्दा पनि माछालाई मल र रेडिमेट दाना खुवाउन सकेका छैनौं । सदस्यको घरमा रहेको गाईभैँसीको गोबर कहिले कसो हालिएको छ । यसको लागि पालिकालाई गुहार्न धेरै पटक गयौं । हुन्छ–हुन्छ भन्छन् हुने कहिले हो कुर्दा–कुर्दा व्यवसाय घाटामा गइसक्यो’, उनले गुनासो सुनाए ।

माडी –१ गर्दीमा थारु सामूहिक महिला कृषकहरुले चार वटा जलासयमा माछापालन गर्दै आएका छन् । यसलाई व्यवसायीकरण गर्न भने कठिन रहेको गुरौं बताउँछन् । उनले भने, ‘गत वर्ष मल र दानाको अभावका कारण साढे दुई लाख भन्दा बढी आम्दानी गर्न सकेनौं । आम्दानी र खर्च बराबरी भयो । अहिले पनि समस्या एउटै छ । व्यवसायीकरण गर्न सकिन्न कि भन्ने लाग्छ । महिलाहरुको व्यवसाय भएर पो हो की हाम्रो पहल सरोकारवालाहरुले सुनिदिँदैनन् ।’
माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा. रबिन बस्ताकोटीले मल र दानाको समस्या समाधान पालिकाले गर्न नसक्ने बताए । उनले भने, ‘मल र दाना विदेशबाट आयात हुन्छ । यसको लागि कृषि मन्त्रालय नै जिम्मेवार छ । जबसम्म सरकारले रेगुलर मल र दाना प्रर्याप्त मात्रामा ल्याउन सक्दैन हामी सरकारको पाटो भएर पनि केही गर्न सक्दैनौं ।’ तर पालिकाको स्रोत र साधनले सक्ने सहयोग भने गरेको बताए । उनले भने, ‘नयाँ जलसाय बनाउनेको लागि हामीले ५० प्रतिशत अनुदान दिएका छौं । साथै माछामा पर्ने जुम्रालगायत समस्यामा सहयोग गरेका छौं । जलसाय एवम् पोखरीमा अक्सिजनको मात्रा कम हुन नदिन, संक्रमण रोक्न यरियटर, जेनेरेटर, पम्पहरु पनि ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका छौं ।

माडीमा माछापालक किसानको संख्या भने बढ्दो रहेको उनको भनाइ छ । उनले भने, ‘चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी छ । तर, गत आर्थिक वर्षमा भने ६०२ जना घर परिवार मत्स्यमा लागेका थिए । यो वर्ष अझै बढ्ने देखिएको छ ।’ अन्य बालीमा भन्दा माछामा प्रतिफल राम्रो भएको उनले बताए । उनले भने, ‘माडीको जमिन माछाको लागि उपयुक्त छ । धान, गहुँ, मकैलगायत कृषि खेतीमा भन्दा यसमा मुनाफा बढी छ ।’

यहाँका माछापालक किसानले सिल्बर माछा प्रति किलो २८० रुपैयाँ र अन्य माछा ३३० मा बेच्दै आएका छन् । जहाँको उत्पादन नारायणगढ, पोखरा र काठमाडौँ निर्यात हुने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>