Breaking News

भौगोलिक विकटताका करण आठ कक्षा पढेपछि पढाइ छाड्न बाध्य छन् चितवनका बालबालीका

Banner

चितवन, चैत २५- 

भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् ।

कमलपुरकी सीता परियारका चारजना छोराछोरी छन् । उनीहरुमध्ये दुईजना भरतपुरमा भाडामा बसेर पढ्छन् भने एकजना चौकीडाँडा आधारभूत विद्यालयमा र एकजना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करिब तीन घण्टा हिँड्नु पर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ ।

“बाहिर कोठा लिएर राखौँ खर्चले धान्न सकिँदैन नजिकै माध्यमिक विद्यालय छैन”, उहाँले भन्नुभयो, “विद्यालय नजिक भएको यही चौकीडाँडा हो । यसमा पनि आठ कक्षासम्म मात्र पढाइ हुन्छ ।” यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उहाँको भनाइ छ ।

यस्तै, गुनासो सुनाउनु हुन्छ धनमाया सुनार पनि । उहाँका दुई छोरी अहिले कक्षा छ र नौमा पढ्दैछन् । उहाँले भन्नुभयो, “कोठा लिएर पढाउने क्षमता छैन ।” चार हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उहाँले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गर्नुभयो । यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उहाँले भन्नुभयो, “कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न । यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो ।” उहाँले छोरी कक्षा आठ पास गरेर नौमा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताउनुभयो ।

चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारी माध्यमिक तहको पढाइ यहाँ नहुँदा आठ कक्षा पास भए पछि पढाइ छोड्ने गरेको स्वीकार गर्नुहुन्छ । भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले आठ कक्षापछि पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष कक्षा आठ उत्तीर्ण गरेका २५ देखि ३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । अभिभावकले सहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको सङ्ख्या बढेको उहाँको भनाइ छ । “कक्षा आठ उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्”, तिवारीले भन्नुभयो ।

गत शैक्षिक सत्रमा १८ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएर उत्तीर्ण भएका थिए । तीमध्ये छ जनाले विद्यालय छाडेका छन् । अहिले यस विद्यालयमा ८५ विद्यार्थी अध्ययनरत छन् । यो विद्यालय विसं २०२४ सालमा स्थापना भएको विद्यालय थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौगोलिक विकटताका कारण विद्यार्थीले विद्यालयस्तरको पढाइसमेत पूरा गर्न नसकेपछि यसको स्तरोन्नति गर्न महानगर लागिपरेको बताउनुभयो । विद्यालयमा अहिले कक्षा आठसम्म पढाइ हुने गरेको बताउँदै उहाँले आगामी शैक्षिक सत्रबाट कक्षा नौको सम्बन्धन दिने तयारी गरिएको जानकारी दिनुभयो ।

सो क्षेत्रको स्थालगत अध्ययनपछि प्रमुख दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा अघि बढाइने भन्दै छोराछोरीको पढाइका लागि चिन्ता लिन नपर्ने गरी महानगरले काम गर्ने बताउनुभयो । यस क्षेत्रका बालबालिका शिक्षा लिनबाट वञ्चित हुन नपर्ने उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>