चितवन विशेष
भरतपुरमा हस्तकलाबाट प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न महिलालाई तालिम

चितवन, चैत २४–
प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि भरतपुरमा तीन दिने तालिम संचालन भएको छ । पोखरी टोल विकास संस्था भरतपुर महानगरपालिका वडा नम्बर ११ को आयोजना र भरतपुर महानगरपालिका वातावरण शाखाको सहयोगमा तालिम सुरु भएको हो ।
घरको भान्साबाट निस्कने प्लाष्टिकजन्य फोहोरलाई न्यूनीकरण गर्नको लागि हस्तकला सम्बन्धि तालिम दिएको संस्थाकी अध्यक्ष चन्द्र कुमारी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्य नेपालकै सुन्दर शहर भरतपुर समृद्ध र सुसंस्कृत बनाउने पहल स्वरुप प्लाष्टिकजन्य फोहोरलाई हस्तकला मार्फत व्यवस्थापन गर्न खोजेका हौं । ‘मेरो फोहोर मेरो जिम्मेवारी’ हाम्रो मुख्य उद्देश्य रहेको छ ।’
तालिम चैत २६ गतेसम्म चल्ने खड्काले जानकारी दिनुभयो । तालिमको प्रशिक्षक रिभा श्रेष्ठ, रविता न्यौपाने रहनुभएको छ । संस्थाका ६० जना महिलाहरुलाई संस्थाले तालिम दिइएको हो । यस तालिमको लागि महानगरले २३ हजार बजेट उपलब्ध गराएको कार्यक्रम संचालिका तथा संस्थाकी सदस्य माया तामाङ कुमालले बताउनुभयो ।


























