Breaking News

चितवनमा घरेलु हिंसाका उजुरी: मध्यस्तकर्ताले पनि श्रीमती कुट्न छाडेनन्

Banner

प्रतिमा कुमाल

चितवन, चैत २१–

जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिंसा सम्बन्धी उजुरी नपरेको दिन हुँदैन। हरेक दिन महिलाहरु आफ्नो पीडा बोकेर न्याएको लागि यहाँ आउने गर्छन ।जसले गर्दा चालु आर्थिक वर्ष २०७९–०८० को फागुन मसान्तसम्म २८२ वटा घरेलु हिंसाको उजुरी परिसकेको छ ।

जसमा खानलाउन नदिएको उजुरी ७२ वटा, कुटपिटको उजुरी १३२ वटा र गाली बैइज्जतीको उजुरी ७८ वटा रहेका छन् । यस मध्ये १८४ वटा उजुरी उपर प्रहरीले मिलापत्र गराएको छ । ५५ वटा अदालती प्रक्रियामा गएको छ । ४३ उजुरीको काम बाँकी रहेको छ । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा  ४४३ घरेलु हिंसाको उजुरी परेको थियो भने आर्थिक वर्ष २०७७–०७८ मा १५४ वटा परेका थिए । यो संख्या यस आर्थिक वर्षको आठ महिनाको तुलनामा झण्डै दोब्बरले कम हो ।

मध्यस्तकर्ताले पनि छाडेनन् श्रीमती कुट्न

सामान्य असमझदारीले हुने घटनाहरु धेरै जसो मिलापत्रमा जाने गरेको देखिन्छ । घरेलु हिंसाका उजुरी मिलापत्रमा जानुको मुख्यकारण श्रीमान् श्रीमती बीचको आपसी समझदारी रहेको छ । भरतपुर महानगरपालिका क्षेत्रपुरका श्रीमान् श्रीमतीबीच देखिएको असमझदारीलाई हटायर एक जोडीलाई मिलाउन सफल भएको हो । यो घटना चैत १६ गतेको हो । जहाँ क्षेत्रपुरका श्रीमान् प्रहरी समक्ष माफी माग्दै आफ्नो श्रीमतीसँग मिलापत्र गरेका थिए ।
स्वयम् राजनीति दलका स्थानीय नेता तथा घरेलु हिंसाका मध्यस्तकर्ता समेत रहेका क्षेत्रपुरका एक श्रीमान्ले श्रीमतीलाई कुटपिट गरेका थिए । हिंसामा परेका महिलाहरुको विषयमा आवाज उठाउँदै र न्यायको काम गर्दै आएको उनले सबैको अगाडि आफ्नै श्रीमतीलाई कुटपिट गरेपछि उजुरी प्रहरी कहाँ पर्न गएको थियो ।

ब्युटिसियन श्रीमतीले भनिन्, ‘घरभित्रको कुरा मैले फुलबुट्टा भरेर कोही कसैलाई सुनाएको छैन । घर भित्र मलाई कुटपिट गर्दा मैले केही बोलिन, सबैको अगाडि हात हालेपछि मैले प्रहरी कहाँ उजुरी दिएको हुँ । उहाँ सुध्रिनु पर्छ ।’ उनको श्रीमान् भने आफूले भनेको कुरा नमान्दा कुटपिट गर्न पुगेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘हरेक चाडपर्वमा उसलाई माइत जानुपर्छ । म यहाँ चिउरा र तरकारी खाएर बस्नुपर्छ । आफ्नो घर पनि उसले सम्हाल्न प¥यो नि । मैले भनेको मान्न प¥यो । मबाट गल्ती भयो म स्वीकार्छु तर मेरो मात्र कमी कमजोरी भएर यहाँ प्रहरीमा आएको होेइन । उसले पनि कमी कमजोरी गल्ती नगरी मैले गाली गरेको छैन ।’

उमेरले ७१ वर्ष काटेका क्षेत्रपुरका श्रीमान र ५१ वर्षीय ब्युटिसियन श्रीमतीको दुई सन्तान रहेका छन् । एक छोरी र एक छोराका धनी उनीहरुको बिहे भएको करिब २८ वर्ष पुगेको छ । जीवनको लामो समय एक अर्कासँगै बिताइसकेका यी दुई जोडीले अब जे भए पनि छलफलबाट आपसी असमझदारी मेटाउने बाचा गरेका छन् । महिला हिंसाविरुद्धका अभियानमा बारेमा भाषण गर्दे हिड्ने र घटनाहरुमा मध्यस्तकर्तासमेत गर्ने स्थानीय नेताबाट श्रीमती कुटिएपछि प्रहरी अधिकारीहरु पनि आश्चर्यमा परेका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) का हवल्दार मदन पाण्डेले घरबाहिरको कुरा भित्र ल्याउदा घरपरिवारमा द्वन्द्व उत्पन्न हुनेमा उनीहरुलाई सचेत गराए । ती मध्यस्तकर्तालाई सम्झाउँदै उनले भने, ‘म पनि महिला सेलमा काम गर्छु । दिनभरी धेरैको सुखदःुखको कुरा सुनेर मलाई पनि तनाव हुन्छ । त्यो तनाव लिएर मैले घरमा गएर बुढी कुट्ने, झैझगडा ग¥यो भने मेरो छोराछोरीले के सिक्छन् । तपाई मध्यस्तकर्ता हुनुहुन्छ दिन भरी दुनियाको केसहरु मिलाउँदै हिड्नु हुन्छ । तपाइँको श्रीमती ब्युटिसियन हुनुहुन्छ दिनभरी उहाँले ग्राहककको कुरा सुन्नुहुन्छ । त्यो कुरालाई घरमा ल्याएर प्रकट गर्दा परिवार भताभुङ्ग हुन्छ । दुबै सचेत हुनुपर्छ ।’

हिंसाको मुख्य कारण मादक पदार्थ

चैत १७ गते पनि महिला सेलले भरतपुर–११ का एक जोडीलाई मिलाउन सफल भएको छ । भरतपुरका श्रीमान्ले रक्सीको मातमा श्रीमती कुटेपछि छिमेकी सुन्दरी विश्वकर्माले प्रहरीलाई खबर गरेकी थिइन् । उनले भनिन्, ‘हामी दुईको घरसँगै टासिएको छ । उनको घरमा के भयो भन्ने अरुको मुखबाट सुन्नै पर्दैन धेरै कुरा प्रत्यक्ष सुनिन्छ देखिन्छ । तर त्यो दिन टिभि हेरिरहेको ले थाहा पाइन । कुनै आवाज पनि सुनिन । केही समयपछि रक्सी खाएर बेस्सरी कुटेको थाहा पाएँ । यो घटनालाई सामान्य रुपमा लिन हुन्न भनेर उनलाई लिएर प्रहरीमा गए ।’

विश्वकर्माले रक्सी नखादा दुईको जोडी चखेवाको जस्तो रहेको सुनाइन् । उनले भनिन्, ‘गुरुङ दाईले रक्सी नखादा यी दुई बुढाबुढीको जोडी चखेवाको जस्तो हो । सँगै टासि रहन्छन्, हासीमजाक गर्छन् । अरुलाई पनि हसाउँछन् । रक्सी खाए पछिको बानी नराम्रो श्रीमती कुट्छन । देखेको बेला हामीले छेक्छौं । नदेखेको बेला कुटपिटले ठूलै रुप लिन्छ कि भन्ने लाग्छ ।’

एउटा असल छिमेकीको भूमिका निभाएकी विश्वकर्माका कारणले भरतपुरका श्रीमान्ले आत्मलोचना गर्ने मौका पाएका छन् । उनले अब मादक पदार्थ विस्तारै छोड्दै जाने बाचा प्रहरीमा गरेका छन् । ‘रक्सी नखाए मेरो हात खुट्टा लग–लग काप्छ । मलाई गल्तीको महसुस भएको छ । प्रहरी प्रशासनको सल्लाह अनुसार बिस्तारै रक्सी छोड्दै जान्छु’, उमेरले ६५ वर्ष काटिसकेका उनले विश्वास दिलाए ।

उनीहरुको मिलापत्र गराउँदै हल्वल्दार पाण्डेले श्रीमान् श्रीमतीले एक अर्कालाई बुझ्न र बुझाउन आवश्यक रहेकोमा जोड दिए । अहिले सामाजिक सञ्जालमा भाइरल रहेका प्रहरी जवान हर्केसबहादुर विष्टको उदाहरण दिँदै उनले भने, ‘पैसाको कमीले उनी उपचार नपाएर बिस्तारमा छटपटाइरहेका छन् । उसको श्रीमती रोइकराइ सहयोग मागिरहेकी छन् । विष्ट स्वस्थ हुँदा उसको दाई थियो, दिदी थियो, आमा थियो, बाबा थियो तर उ असक्त हुँदा उसको श्रीमती मात्र उसँग छ । बिमारी भए छरछिमेक आफ्न्त एक किलो स्याउ, आधा किलो अनार र एक बोत्तल जुस लिएर आउँछन । तर दिसापिसाब सोर्न श्रीमान्लाई श्रीमती चाहिन्छ, श्रीमतीलाई श्रीमान् चाहिन्छ । छरछिमेकी इष्टमित्र आउँदैनन्’, उनले दुई जोडीलाई सम्झाए ।

मिलापत्र प्रहरीको प्राथमिकतामा

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले घरेलु हिंसाको प्रकृति अनुसार प्रहरीको पहिलो प्रयास मिलापत्र रहेको बताए । उनले भने, ‘घरेलु हिंसा अन्य फौजदारी मुद्दा भन्दा फरक प्रकृतिको हुन्छ । विशेष गरेर श्रीमान् श्रिमतीको केस यसमा पर्छ । उनीहरुको बच्चा हुन्छ । सम्बन्ध बिच्छेद गरिदिँदा बीचमा रहेका बच्चाहरु त्यसबाट पीडित हुन सक्छन् । महिला पनि पीडित हुन सक्छ । यसो हुनाले मुद्दाको प्रकृति नै यस्तो छ दुई तीन पटक छलफलमा राख्छौं । मिल्नु भयो भने ठिकै छ । नमिलेको खण्डमा अदालतको प्रक्रियामा जान्छ । साथै घरेलु हिंसाको प्रकृति हेरेर मिलापत्र हुन्छ ।’
कार्कीले मिलापत्र भएपछि पनि त्यसले जघन्य अपराध लिन्छ कि भन्ने भय भने हुने बताए । ‘मिलाइ सकेपछि भविष्यमा गएर जघन्य अपराध हुने सम्भावना छ । त्यसकारण उनीहरुलाई हामीले तारेखमा राख्छौं । जसले गर्दा अहिलेसम्म घटेको छैन । साथै उनीहरुको दैनिक दिनचर्या पनि हाम्रो निगरानीमा हुन्छ’, उनले भने ।

मानव अधिकारको भयानक समस्या

चितवन प्रहरीको अध्ययनमा घरेलु हिंसा सबै भन्दा बढी हुने तथा सबै भन्दा कम देखिने हिंसाका किसिम हो । यसको विनाशकारी परिणाम पीडितका शारीरिक, मानसिक, सामाजिक जीवनमा मात्र नभई बृहत रुपमा परिवार, समुदाय तथा समाजलाई पनि पर्छ । संसारभर घरेलु हिंसा मानव अधिकारको एक भयानक समस्याको रुपमा देखिएको छ । तर लाज तथा लाल्छना लाग्ने त्रासले पीडितहरु अफूमाथि भइरहेको हिंसाका बारेमा कुरा गर्न र सहयोग माग्न गाह्रो मान्छन् । जसका कारण घरेलु हिंसामा परेका पीडितहरुको अंगभंग भएको छ । मृत्यु तथा हत्या गरिएको छ भने आत्महत्यासमेत गर्न बाध्य पारिएको छ । महिलाहरुको यो दयनीय अवस्थाको विषय एक जघन्य अपराधको घटना घटेपछि मात्र बाहिरिन्छ । जसलाई न प्रहरी प्रशासनले रोक्न सकेको छ न समाजले छेक्न सकेको छ । तर, समयमै घरेलु हिंसाको कानुनी उपचार खोज्नेहरु यसबाट उम्कन सफल भएका छन् । असमझदारीबाट उत्पन्न हिंसालाई कानुनी उपचार लिएर परिवारमा सुख शान्ति ल्याउने पनि चितवन प्रहरीको तथ्यांकमा प्रशस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>