Breaking News
चितवन–२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेद्वारा मनोनयन दर्ता

चितवन, चैत २०-
चितवन–२ को उपनिर्वाचनको लागि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारमा मनोनयन दर्ता गरेका छन् ।
एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा चितवनका शीर्ष नेता, कार्यकर्ता र समर्थकको भीडसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।
न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो । चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन–२ बाट निर्वाचित भएका थिए ।
नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । चितवन–२ मा यसअघि रास्वपा सभापति लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

























