Breaking News

महामन्त्री शर्माको प्रश्न– नो नट अगेन भन्नेले मन्त्रिमण्डलमा बस्दिनँ भन्न सक्नुहुन्छ ?

Banner

चितवन, चैत २०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवन–२ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति  प्रश्न गर्दे प्रचण्डको मन्त्रिमण्डलमा बस्दिनँ भन्न सक्नुपर्ने बताएका छन् ।

सोमबार चितवन–२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ता गर्न जानुअघि आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दाे विषय भएको बताएका हुन् ।

‘मंसिर ४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नो नट अगेन भन्ने उहाँले अब फेरि म प्रचण्डको सरकारमा सहभागी हुन्न भन्न सक्नुहुन्छ कि हुन्न ?,’ शर्माले भने,‘नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको मिडियालाई १२ भाइ भन्नुभएको छ । हिजो टिभीमा हुँदा सबै नेता खराब भन्ने अनि आज नेता हुँदा सबै मिडिया खराब भन्ने ?’

मंसिर ४ को चुनावमा चितवनले आवेगमा मतदान गरे पनि अब त्यसरी आवेगमा मतदान गर्न नहुने शर्माले बताए । कांग्रेस उम्मेदवार श्रेष्ठलाई चितवनको माटोले चिनेको उल्लेख गर्दै उनले अर्का महामन्त्री गगन थापा र आफूले चितवन–२ का हरेक वडा–वडामा पुग्ने र श्रेष्ठलाई सांसद बनाएर काठमाडौं लैजाने बताए ।

त्यसैगरी शर्माले कांग्रेसले स्वर्णिम वाग्लेलाई यहाँसम्म पुग्न मञ्च दिएको बताए । ‘कांग्रेसले उहाँलाई मञ्च दियो। कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो, गीत गाउन जान्दछु भन्दा गीत गाउन दियो । नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ बिस्तारै भन्यो,’ शर्माले भने,‘त्यसो भन्दा उहाँले कांग्रेस माथि नै प्रश्न गर्नुभयो । यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ ।’ अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसलाई गाली गरेर पार्टी छोड्नु राजनीतिक संस्कार नभएको बताएका छन् ।

महामन्त्री शर्माले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको पनि आलोचना गर्न पाइने भए पनि कांग्रेसले हिजोअस्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न नपाइने बताए । वाग्लेको पछिल्लो कदमले उनको बौद्धिकतामाथि प्रश्न उठेको शर्माले बताए ।

‘म बौद्धिकता अनादर म गर्दिनँ, हामीसँग हुँदा बौद्धिक, हामीलाई छोड्नेवित्तिकै अबौद्धिक म भन्दिनँ,’ उनले भने,‘तर बौद्धिकताले पनि जनताको बीचमा जान संयमको, धैर्यताको परीक्षा पारित गर्न सक्दैन भने त्यो बौद्धिकतामा प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>