समाचार

उपनिर्वाचनका लागि आज मनोनयन, २५ जनाभन्दा बढी जान नपाइने

Banner

काठमाडौं, चैत २०–

बैशाख १० हुने उपनिर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि सम्बन्धित क्षेत्रमा सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदिेखि साँझ ५ बजेसम्मको समय दिइएको छ।

आयोगले निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ।

उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने आयोगले जनाएको छ। यसैगरी उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाइने छैन।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं २ का लागि उपनिर्वाचन हुन लागेको हो।

चितवनमा दलहरुलाई छुट्टै समय

चितवन–२ मा उमेदवारी दर्ताको लागि चार ठूला दलहरुलाई छुट्टा–छुट्टै समय दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो १ बजेको समय पाएकामा बिहान १० बजे नै उमेदवारी दर्ता गर्ने भएको छ । रवि लामिछाने आफ्नो उमेदवारी दर्ता गरेर तनहुँमा स्वर्णिम वाग्लेको उमेदवारी दर्ता कार्यक्रममा सहभागी हुन जाने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए ।

दिउँसो २ बजे कांग्रेस उमेदवार जीतनारायण श्रेष्ठ, ३ बजे एमाले उमेदवार रामप्रसाद न्यौपाने र ४ बजे राप्रपा उमेदवार जीवलाल पुरीले उमेदवारी दर्ता गर्दै छन् । अन्य दल तथा उमेदवारले आफ्नो अनुकुलमा दर्ता गर्न पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>