Breaking News

चितवनमा चैतसम्म भएका २३५ सवारी दुर्घटनामा ५२ जनाको ज्यान गयो

Banner

निरुता विक
चितवन, चैत १९-

चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ ।

बढ्दो सवारी चाप, राजमार्ग मर्मत् निर्माण र तीव्र गतिका कारण चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको हो । यस वर्ष चैत १६ गतेसम्म भएका २३५ सवारी दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (२०७७\७८) मा जिल्लामा ४३५ वटा सवारीसाधन दुर्घटना हुँदा १२८ जनाकोे मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार तमाङले नारायणी अनलाइनलाई जानकारी दिए । जसमा पुरुष १०१ जना, महिला २२ जना, बालक दुई जना, बालिका तीन जना रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष (२०७८\७९)मा ८१० दुर्घटनामा १४० को मृत्य भएको थियो । जसमा मृत्यु हुनेमा १०६ पुरुष, २२ महिला, १२ बालबालिका रहेका छन् । २६५ गम्भीर घाइते र ७०६ सामान्य घाइते भएका छन् । जसमा ७३९ मापसे सेवन गरेर सवारी चलाउने, ७८ तीव्र गतिमा, सात हजार ३२९ कागजपत्र साथमा नबोकेका, चार हजार ३२९ लाइसेन्स नभएका र एक हजार ४०० सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारी रहेको उनले बताए । यसमा ४१० मोटरसाइकल, ११२ कार, ९७ बस, ११२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधनबाट दुर्घटना भएको प्रहरी निरीक्षक तमाङले बताए ।

यस्तै चालु आर्थिक वर्ष (०७९\८०) को चैत महिनाको १६ गतेसम्म २३५ दुर्घटनामा ५२ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४३ पुरुष, ६ महिला, २ बालक र एक बालिका रहेका छन् । १२५ गम्भीर घाइते र २९२ सामान्य घाइते भएको प्रहरी निरीक्षक तमाङले जानकारी दिए । यस चालु आर्थिक वर्ष सकिन अझै तीन महिना बाँकी रहेको छ । यो संख्या अझै बढ्ने देखिएको छ । यस्तै चैत १५ गते सम्ममा सबैभन्दा बढी १७३ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ७५ मोटरसाइकल, ४३ ट्रक र ट्याङ्कर, ४९ जिप र ८ माइक्रो, १२ टेम्पो अटो रिक्सा, १९ बस, चार ट्याक्टर, पाँच ट्रिपर र अन्य ९ दुर्घटना भएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने नरोकिएको प्रहरी निरीक्षक तमाङले बताए । उनले भने, ‘तीव्र गतिमा सवारी चलाउने युवा पुस्ता बढी भएकाले तीव्र गतिमा दौडने मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ ।’
कार्यालयले आव २०७७÷७८ मा तीन करोड ३० लाख ३७ हजार राजस्व संकलन गरेको थियो । यस्तै आव ०७८÷७९मा ३३ हजार ७२८ सवारीसाधनलाई कारबाही गरी तीन करोड एक लाख ५४ हजार ५०० राजस्व संकलन गरेको थियो भने चालु आवको चैत १६ सम्ममा ६१ हजार ४३३ सवारीसाधनलाई कारबाही गरी दुई करोड ४२ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।

चितवन हुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम महेन्द्र राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक गएका छन् । धेरै जसो दुर्घटनामा महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा हुँदै आएका छन् । चितवनमा राजमार्ग क्षेत्र ९३.३९ किलोमिटर छ । यसबाहेक अन्य सडक दुई हजार १८३ किलोमिटर छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>