समाचार

कोशी प्रदेशका २० प्रतिशत बालबालिकामा पुड्कोपन

Banner

बनियानी,  चैत १८-

कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको जानकारी दिनुभयो ।

त्यस्तै १३ प्रतिशत बालबालिकामा कम तौलको समस्या र चार प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको उहाँले बताउनुभयो । “नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण धेरै छ”, उहाँले भन्नुभयो, “जसका कारण बालबालिकाको चौतर्फी विकास हुनसकेको छैन ।” उहाँले नेपालमा २५ प्रतिशत पुड्कोपन, आठ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बालबालिका कम तौलका रहेको बताउनुभयो ।

बालबालिका धेरै कुपोषित भएको र यसलाई निराकरण गर्न पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उहाँले जोड दिनुभयो । कृषि, पशुपक्षी, शिक्षा, खानेपानी, महिला तथा बालबालिकासँग सम्बन्धित क्रियाकलापसँगसँगै पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यका साथ योजना आएको बताउँदै उहाँले यस कार्यक्रमले बालबालिकासँगै किशोरी तथा महिलाको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताउनुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँले पोषणको कुरा सामान्य लागे पनि महत्वपूर्ण विषय रहेको बताउनुभयो । “कुपोषित बालबालिकाकाको समुचित शारीरिक तथा मानसिक विकास हुन सक्दैन”, उहाँले भन्नुभयो, “राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुन्छ, बच्चालाई आमाको गर्भमा हुँदादेखि नै कुपोषित हुनबाट बचाउनु पर्छ ।”

नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>