चितवन विशेष
जितनारायणद्वारा लामिछानेलाई प्रश्नः मेरा कार्यकर्ताले रुख बोकेर हिड्न पाउने कि नपाउने ?

प्रतिमा कुमाल
चितवन, चैत १८–
चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो कार्यकर्ताहरुले रुख बोकेर हिड्न पाउने कि नपाउने भनेर प्रश्न गरेका छन् ।
आज (शनिबार) भरतपुर–१० मा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रवि लामिछानेको घण्टी चिन्हलाई लक्षित गर्दै भने, ‘भोलि कुनै पार्टीले चुनाव चिन्ह बोकेर हिड्न थाल्यो भने मेरो पार्टीका कार्यकर्ताले रुख बोकेर हिड्न पाउने कि नपाउने ? त्यो बेलामा मैले मेरो कार्यकर्तालाई के भनेर कन्भिन्स गर्ने । त्यसैले आचारसंहिता उलंघन हुने कुराहरुमा कुनै पनि दललाई छुट हुन हुँदैन । सबैलाई समान हिसाबको व्यवहार हुन्छ भनेर विश्वास गर्छौ हामी ।’
श्रेष्ठले आचारसंहिता हनन् हुँदा दलहरु बीच तिक्तता उत्पन्न हुने दाबी गरे । उनले भने, ‘अहिले ३ ठाउँमा उपनिर्वाचन हुँदैछ । त्यसमा पनि चितवनको निर्वाचनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चासोको विषयका साथ हेरिएको छ । म आग्रह गर्न चाहन्छु प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतलाई भोलि जिल्लामा सबै दलहरुले आ–आफ्नो चुनाव चिन्ह बोकेर हिड्यो भने त्यसको निकास के हुन्छ ? मेरो चुनाव चिन्ह रुख म रुखकै मुङ्ग्रो बोकेर हिड्दिने । मेरो कार्यकर्ताहरु रुखै बोकेर हिड्दिने । कसैको हसिया हतौडा छ त्यही बोकेर हिड्दिने । कसैको खुकुरी छ, खुकुरी नै बोक्ने कि नबोक्ने । यो कुरा बुझिदिनु होला । समाजलाई दख्खल गर्ने हिसाबले आफ्ना चुनाव चिन्ह बोकेर हिड्यो भने यसले दलहरुको बीचमा तिक्तता आउन सक्छ ।’ गत प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुले घण्टी चिन्हको प्रतिक बोकेको प्रति श्रेष्ठको संकेत थियो ।
श्रेष्ठले निर्वाचनको मैदानमा कोही भगवान नहुने बताए । ‘निर्वाचनको मैदानमा आइसकेपछि कोही भगवान हुँदैन । यहाँ भगवानको त आलोचना छ । एउटा भगवानलाई नमानेर अर्को धर्म मान्ने मान्छेहरु हाम्रो समाजमा भेट्छौं । एउटा संस्थालाई नमानेर अर्कोलाई मान्ने मान्छे भट्छौं भने भगवनालाई नमानेको ठाउँमा त्यहाँ कोही पनि मान्छे भगवान हुँदैन’, उनको भनाइ थियो ।
सामाजिक सञ्जालबाट कसैलाई गालीगलोज हुन्छ भने त्यसमा प्रशासन गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने, ‘लोकतन्त्रमा आफ्नो कुराहरु राख्न पाइन्छ । मेरो बारेमा पनि राख्न पाहुनुहुन्छ म उमेद्वार छु । अर्काको बारेमा पनि राख्न पाइन्छ । किनकी विचार अभिव्यक्त गर्न पाइन्छ । विचारको जवाफ विचारले दिने हो । बोल्यो भने हार्दिक श्रद्धाञ्जली लेख्ने कुराहरु भयो भने त्यस्ता कुराहरुमा प्रशासनले गम्भीर ढङ्गबाट हेर्नु प¥यो । कसैलाई अन्य ढङ्गबाट व्यक्तिगत गालिगलोज भयो भने त्यसले निर्वाचनलाई राम्रो ढङ्गबाट नलैजान सक्छ । यसमा प्रशासन सजक हुनुपर्छ ।’